अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य सहितको स्टिकर अनिवार्य गर्ने सरकारी निर्णयका सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच विस्तृत छलफल भएको छ। विभागले चैत ३० गते जारी गरेको निर्देशनपछि उत्पन्न व्यवहारिक जटिलताबारे ध्यानाकर्षण गराउँदै नाडाको प्रतिनिधि मण्डलले महानिर्देशक रोशन ज्ञवालीसँग भेटवार्ता गरेको हो।
छलफलका क्रममा नाडाले बजारमा पारदर्शिता कायम गर्न र अनिवार्य बिल विजक जारी गर्ने व्यवस्थाको स्वागत गरे पनि भन्सार विन्दुमा स्टिकर टाँस्ने प्रावधानको व्यवहारिकता र गोदाममा रहेका पुराना स्टक सामग्रीको व्यवस्थापनमा देखिएका चुनौतीबारे लिखित सुझाव पेस गरेको छ। महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐनको प्रावधान र सरकारको १०० दिने कार्यसूची अन्तर्गत नै यो व्यवस्थालाई प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन ।
उनले अधिकतम मूल्य उल्लेख गर्ने विषयमा आयातकर्ता र उद्योगीप्रति विभाग कडा रूपमा प्रस्तुत हुने बताउँदै कार्यान्वयनमा देखिने व्यवहारिक समस्या सुल्झाउन सरकार तयार रहेको आश्वासन दिए । व्यवसायीहरूले स्वच्छ व्यापारप्रति प्रतिबद्धता जनाउँदै गर्दा विभागले पनि आवश्यक परे कानुनी सुधारका लागि सुझाव दिन नाडालाई आग्रह गरेको छ। उक्त भेटघाटमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र महासचिव मिलनबाबु मल्लसहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


