सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेवा र व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता प्राप्त गरेको छ। कम्पनीले ‘यूनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ (URS) र ‘युकास’ (UKAS) म्यानेजमेन्ट सिस्टम्समार्फत ISO 9001:2015 प्रमाणीकरण पाएको हो।
यस उपलब्धिले सिटिजन लाइफको आन्तरिक कार्यप्रणाली, व्यवस्थापन र सेवा सञ्चालन प्रक्रिया विश्वस्तरीय मापदण्ड अनुरूप रहेको पुष्टि गरेको छ। कम्पनीका अनुसार यो प्रमाणीकरणले संस्थामा पारदर्शिता र कार्यदक्षता वृद्धि गर्दै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन थप उर्जा प्रदान गरेको छ। विशेषगरी बीमा दाबी भुक्तानी र ग्राहक सेवामा एकरूपता ल्याउन यो प्रमाणीकरणले कोसेढुङ्गाको काम गर्ने कम्पनीको दाबी छ।
नियामक निकायका मापदण्डहरूको पूर्ण पालना र संस्थागत सुशासनलाई मजबुत बनाउँदै आफ्नो विश्वसनीयतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने सिटिजन लाइफको लक्ष्य छ। आगामी दिनमा पनि ग्राहकको सन्तुष्टिलाई नै मुख्य प्राथमिकतामा राखेर सेवाहरूलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता कम्पनीले जनाएको छ।


