Banijya News

सानिमा बैंकको नाफामा ४२ प्रतिशतको वृद्धि

1
1.0K Shares

सानिमा बैंकको नाफामा उल्लेख्य बढोत्तरी देखिएको छ। अघिल्लो वर्षको पहिलो नौ महिनाको तुलनामा यस वर्ष बैंकले ७० करोड बढी नाफा कमाउँदै कुल २ अर्ब ३५ करोड रुपैयाँ करपछिको नाफा आर्जन गर्न सफल भएको छ, जुन ४२.२२ प्रतिशतको वृद्धि हो।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा सुधार र इम्पेरमेन्ट चार्ज (ऋण नोक्सानी प्रावधान) घट्नु प्रमुख कारण देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले वृद्धि भएको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी २०.४१ प्रतिशत र सञ्चालन मुनाफा ४७.५० प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज भने १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। जसले नाफा वृद्धिलाई थप टेवा दिएको देखिन्छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ नाघेको छ। कुल वार्षिकीकरण योग्य वितरणयोग्य नाफा १८.५७ प्रतिशत रहेको बैंकले जनाएको छ। त्यस्तै, निक्षेप संकलन २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। कर्जा विस्तारतर्फ बैंकले राम्रो प्रगति गरेको छ।

नाफा वृद्धिसँगै शेयरधनी सूचकहरूमा सुधार देखिएको छ। इक्विटीमा प्रतिफल  १३.१३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १०.३५ प्रतिशत थियो। प्रतिशेयर आम्दानी बढेर करिब २३ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा र मूल्य–आम्दानी अनुपात १५.२७ गुणा रहेको छ।

पूँजी पर्याप्तताको हिसाबले पनि बैंक सन्तुलित देखिएको छ। टियर–१ पूँजी पर्याप्तता अनुपात १०.०३ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १३.१६ प्रतिशत कायम छ। बैंकले ८.२५ प्रतिशत दरका २ अर्ब रुपैयाँ बराबरका स्थायी अवितरित अग्राधिकार शेयरसमेत जारी गरेर पूँजी आधार मजबुत बनाएको छ। हाल १५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड रुपैयाँ सञ्चित छ।

1

Scroll to Top