सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गरी पौष्टिक खाद्य सामग्री वितरण गरेको जनाएको छ।
बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, मानवीय सेवा तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै यसपटक गर्भवती र सुत्केरी महिलालाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जनाएको छ।
बैंकका अनुसार गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषण अभाव, रक्तअल्पता (एनेमिया) तथा अन्य स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गरी आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
यस अभियानअन्तर्गत सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँग समन्वय गरी करिब एक हजार ५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा प्रदान गरिएको बैंकले जनाएको छ।
शिविरमा स्वास्थ्यकर्मीले सहभागी महिलाको स्वास्थ्य परीक्षण गरेका थिए। साथै उनीहरूलाई करिब तीन महिनाका लागि पुग्ने स्वास्थ्यवर्द्धक तथा पौष्टिक खाद्य सामग्री पनि वितरण गरिएको बैंकले जनाएको छ।
बैंकले आगामी दिनमा पनि लक्षित समुदायमा सकारात्मक प्रभाव पार्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। हाल सानिमा बैंकका देशभर १३४ शाखा कार्यालय र १२७ एटीएम सञ्चालनमा छन्।


