सानिमा बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई राहत दिने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरी शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा सार्वजनिक गरेको छ। यस साझेदारीअन्तर्गत बैंकका ग्राहकहरूले फिनतारासँग आबद्ध विभिन्न स्टोरहरूबाट सामान खरिद गर्दा कुनै अतिरिक्त ब्याज नतिरी अधिकतम १२ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्। यो योजना विशेषगरी महँगा इलेक्ट्रोनिक्स सामान, मोबाइल, ल्यापटप, फर्निचर, माउन्टेन बाइक तथा अन्य घरायसी उपकरण खरिद गर्नेहरूका लागि उपयोगी हुने देखिएको छ ।
डिजिटल भुक्तानी र सरल बैंकिङ सेवालाई प्राथमिकता दिँदै बैंकले उच्च मूल्यका वस्तुहरूलाई आम उपभोक्ताको पहुँचमा पुर्याउन यो कदम चालेको जनाएको छ। एकैपटक ठूलो रकम खर्च गर्नुको सट्टा साना किस्तामा रकम बुझाउन सकिने भएपछि ग्राहकहरूलाई घरायसी र व्यक्तिगत आवश्यकताका सामान जोड्न थप सहज हुने विश्वास गरिएको छ। हाल सानिमा बैंकले देशभरका १३४ शाखा र १२७ एटीएममार्फत आफ्ना सेवाहरू प्रदान गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न समयमा आकर्षक अफरहरू समेत ल्याउँदै आएको छ।


