प्रधानमन्त्री बालेन शाहले वर्षौँदेखि बल्झिएको सुकुम्वासी समस्याको स्थायी समाधान आफ्नै नेतृत्वको सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशभरका वास्तविक सुकुम्वासीहरूलाई कानुनी प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने आश्वासन दिएका हुन्। विगतका सरकारहरूले सुकुम्वासीको समस्यालाई भोटको राजनीतिको माध्यम मात्र बनाएको आरोप लगाउँदै प्रधानमन्त्री शाहले आफ्नो सरकारले यसलाई स्थायी रूपमा टुङ्गो लगाउने र नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले विशेषगरी वर्षायाममा हुन सक्ने सम्भावित प्राकृतिक विपत्ति र मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले कुनै ठूलो दुर्घटना कुरेर बस्नुभन्दा समयमै सचेत हुनु बुद्धिमानी हुने भन्दै जोखिमपूर्ण क्षेत्रमा रहेका बस्तीहरूको व्यवस्थापन जरुरी रहेकोमा जोड दिएका छन्। नागरिकको जीवनसँग खेलबाड गरेर उनीहरूलाई सधैँ असुरक्षित र डुबानको जोखिम भएको स्थानमा राखिरहनु उनीहरूको अधिकारको हनन भएको उनको तर्क छ।
सुकुम्वासीहरूलाई उचित र सुरक्षित स्थानमा व्यवस्थापन गर्ने योजना अघि सार्दै प्रधानमन्त्रीले वर्षौंदेखि चल्दै आएको ‘झुलाउने राजनीति’ अब अन्त्य हुनुपर्ने बताएका छन्। उनले सुकुम्वासीहरूलाई अव्यवस्थित र जोखिमयुक्त ठाउँमा बसिरहन बाध्य पार्नुभन्दा उनीहरूलाई राज्यले सुरक्षित आवासको ग्यारेन्टी गर्नु नै वास्तविक न्याय हुने उल्लेख गरेका छन्। जोखिमरहित व्यवस्थापन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको भन्दै उनले यस कार्यमा सरकार दृढताका साथ अघि बढ्ने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताएका छन्। अबको सरकारले सुकुम्वासीका नाममा राजनीति मात्र नगरी उनीहरूको सुरक्षित आवास र भूमि अधिकार सुनिश्चित गर्ने ठोस योजना अघि सारेको उनको दाबी छ। यस कदमले वर्षौँदेखि अन्योलमा रहेका वास्तविक भूमिहीनहरूले न्याय पाउने र शहरको स्वरुप समेत व्यवस्थित हुने विश्वास लिइएको छ।


