Banijya News

हिमालयन बैंक फोनेपे नेटवर्कमा आबद्ध, डिजिटल भुक्तानीमा नयाँ आयाम

1
1.0K Shares

नेपालको अग्रणी निजी वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड औपचारिक रूपमा फोनेपे पेमेन्ट सर्भिस लिमिटेड नेटवर्कमा आबद्ध भएको छ। यससँगै देशको सबैभन्दा ठूलो अन्तरसञ्चालनयोग्य क्यूआर भुक्तानी प्रणालीमा प्रमुख निजी बैंकको प्रवेश भएको छ। फोनेपेले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यो साझेदारी नेपालको डिजिटल भुक्तानी पूर्वाधार विस्तारमा महत्त्वपूर्ण उपलब्धि हो। 

हिमालयन बैंकको देशभर फैलिएको शाखा सञ्जाल र ठूलो ग्राहक आधार फोनेपे नेटवर्कसँग जोडिएपछि क्यूआर आधारित डिजिटल कारोबार अझ व्यापक हुने अपेक्षा गरिएको छ। सन् १९९३ मा स्थापना भएको हिमालयन बैंकलाई देशका अग्रणी निजी बैंकहरूमध्ये एकका रूपमा चिनिन्छ। बैंकले आधुनिक बैंकिङ सेवा विस्तार गर्दै आएको छ भने डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्दै आएको छ।

फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार ले हिमालयन बैंकको आबद्धताले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई तीव्र बनाउने बताएका छन्। उनका अनुसार बैंक र फोनेपेको संयुक्त पहुँचले देशभर डिजिटल भुक्तानीलाई अझ सहज र पहुँचयोग्य बनाउनेछ। त्यस्तै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणा ले फोनेपे नेटवर्कमा आबद्धता बैंकको डिजिटल रूपान्तरण यात्राको निरन्तरता भएको बताए। उनका अनुसार अब ग्राहकहरूले छिटो, सुरक्षित र व्यापक रूपमा स्वीकार्य डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन्।

हाल यो साझेदारी प्राविधिक एकीकरण चरणमा रहेको र प्रक्रिया पूरा भएपछि हिमालयन बैंकका ग्राहकहरूले फोनेपे नेटवर्कमार्फत सहज रूपमा क्यूआर कारोबार गर्न सक्ने जनाइएको छ।फोनेपेले हाल देशभर लाखौं व्यापारी र करोडौं कारोबार समेट्दै डिजिटल भुक्तानी पूर्वाधार सञ्चालन गरिरहेको छ। हिमालयन बैंकको प्रवेशसँगै नेपालमा समावेशी र एकीकृत डिजिटल भुक्तानी प्रणाली अझ मजबुत हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top