Banijya News

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ल्यायो नेपालकै पहिलो ‘सूचकांकमा आधारित दूध उत्पादन बीमालेख’

1
1.1K Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक बढ्दो तापक्रमका कारण गाई तथा भैँसीको दूध उत्पादनमा हुने कमीलाई रक्षावरण गर्ने गरी ‘सूचकांकमा आधारित दूध उत्पादन बीमालेख’ सुरु गरेको छ। प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा ल्याइएको यो नवीन योजना विशेषगरी गर्मी बढी हुने तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका कृषकहरूलाई लक्षित गरिएको हो ।

२०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्मको अधिकतम तापक्रमलाई आधार मानेर सञ्चालन हुने यस बीमालेखअन्तर्गत हालसम्म १,६२७ गाई तथा भैँसी आबद्ध भइसकेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार तापक्रम पूर्वनिर्धारित सीमाभन्दा माथि पुगेर पशुमा ‘हिट स्ट्रेस’ उत्पन्न भई दूध उत्पादन घटेमा कृषकले स्वतः क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ।

यस बीमा योजनाको दाबी प्रक्रिया पूर्ण रूपमा पारदर्शी र प्रविधिमैत्री रहेको कम्पनीले जनाएको छ। सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत दाबी योग्य भए-नभएको निर्धारण गरिने हुनाले कृषकले झन्झटमुक्त सेवा प्राप्त गर्नेछन्। दाबी भुक्तानीका लागि आधिकारिक निकायबाट तापक्रमको विवरण प्राप्त भएको ७ दिनभित्रै विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा रकम पठाइने व्यवस्था मिलाइएको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र नेपाल रि-इन्स्योरेन्सबाट पुनर्बीमा गरिएको यो बीमालेखले जलवायु परिवर्तनका कारण कृषकले भोग्नुपरिरहेको आर्थिक जोखिमलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

1

Scroll to Top