Banijya News

होन्डा नेपालद्वारा अत्याधुनिक शोरुम सञ्चालन, दैनिक १५० बाइक सर्भिसिङ गर्ने क्षमता

1
1.1K Shares

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ त्रिपुरेश्वरमा नयाँ ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको छ। शुक्रबार एक विशेष समारोहका बीच होन्डा मोटर कम्पनीका विश्वस्तरीय पदाधिकारीहरू र स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रूपमा यस अत्याधुनिक केन्द्रको उद्घाटन गरेका हुन । ग्राहकले अब एउटै छानामुनि सवारी साधन खरिद, मर्मत सम्भार र सक्कली स्पेयर पार्टस् सहजै प्राप्त गर्न सक्नेछन्।

शोरुम उद्घाटनका क्रममा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले यो नयाँ केन्द्र होन्डाको दूरदृष्टिको प्रतीक भएको बताए । होन्डा र स्याकार बीचको बलियो सहकार्यले गर्दा नै विगत १० वर्षभन्दा बढी समयदेखि नेपालमा होन्डा नम्बर १ ब्रान्ड बन्न सफल भएको चर्चा गर्दै उनले सवारी साधनको टिकाउपन, विश्वसनीयता र गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरे । यो थ्रिएस सेन्टरले अन्तर्राष्ट्रिय स्तरको सोरुम अनुभवका साथै ग्यारेन्टीसहितको जेन्युन पार्टस् सुनिश्चित गर्ने उनको भनाइ छ।

यस शोरुमको मुख्य विशेषता भनेको यसको ‘पारदर्शी कार्यशैली’ हो। स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानेका अनुसार ग्राहकले आफ्नो मोटरसाइकल मर्मत भइरहेको दृश्य प्रत्यक्ष हेर्न सक्ने गरी वर्कसपलाई पारदर्शी र आधुनिक बनाइएको छ। दैनिक १५० वटासम्म मोटरसाइकल सर्भिस गर्न सक्ने क्षमता रहेको यस वर्कसपमा आउने ग्राहकका लागि चिया, कफी लगायतका सुविधासहितको विशेष प्रतीक्षालयको समेत व्यवस्था गरिएको छ। होन्डाले बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै नेपालभर यस्ता ६ वटा अत्याधुनिक केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा कम्पनीको स्पेशल प्रोजेक्ट्सतर्फका महाप्रबन्धक मुकुल श्रेष्ठले यो उद्घाटनले नेपालमा होन्डाको सेवाको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे l उद्घाटन समारोहमा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तोसिओ कुवाहारा, विभागीय प्रबन्धक योशिकी कामिओ र प्रतिनिधि कोजिरो कामिया लगायतको उपस्थिति रहेको थियो। जापानी प्रविधि र नेपाली विश्वासलाई थप मजबुत बनाउन यो नयाँ अवधारणाको शोरुमले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले अपेक्षा गरेको छ।

1

Scroll to Top