नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको आईपीओ निष्कासन प्रक्रियाअन्तर्गत बुक बिल्डिङको महत्वपूर्ण खुड्किलो ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ। लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा काठमाडौँको होटल म्यारियटमा आयोजित उक्त कार्यक्रममा नेपालका प्रतिष्ठित योग्य संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य अस्पतालको आगामी शेयर निष्कासनका लागि लगानीकर्ताहरूसँग परामर्श गर्नु र उनीहरूको सुझाव सङ्कलन गर्नु रहेको थियो। छलफलका क्रममा लगानीकर्ताहरूले कम्पनीको शेयर मूल्य निर्धारण, बजारको माग र कम्पनीको वास्तविक मूल्याङ्कनका विषयमा आफ्ना महत्वपूर्ण रायहरू व्यक्त गरेका थिए।
अस्पतालका तर्फबाट मुख्य कार्यकारी अधिकृत अजयकुमार मिश्रले संस्थाको हालको वित्तीय अवस्था, अस्पतालले प्रदान गरिरहेको सेवाको गुणस्तर र आगामी दिनमा व्यवसाय विस्तारका लागि तय गरिएका रणनीतिक योजनाहरूका बारेमा प्रष्ट पारेका थिए । सोही अवसरमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बुक बिल्डिङ विधिको कानुनी प्रक्रिया, मूल्य निर्धारणका प्राविधिक आधारहरू र नियामक निकायका प्रावधानहरूबारे विस्तृत प्रस्तुति दिएको थियो। उपस्थित लगानीकर्ताहरूले नर्भिकको यो प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
यो रोड शोको समाप्तिसँगै अबको प्रक्रिया झन् महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। इच्छुक र योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको कित्ता र त्यसका लागि प्रस्तावित मूल्य उल्लेख गरी आगामी वैशाख २१ गते बेलुका ५ बजेभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो आशयपत्र बुझाउनुपर्नेछ। नर्भिकले नेपालको पुँजी बजारमा यो आधुनिक मूल्य निर्धारण प्रणालीले बजारलाई थप परिपक्व र व्यवस्थित बनाउने अपेक्षा राखेको छ। यस प्रक्रियाले वास्तविक बजार मूल्यमा आधारित भएर शेयर निष्कासन गर्ने परिपाटीलाई प्रोत्साहन गर्ने र संस्थागत लगानीकर्ताको आकर्षण अझ बढाउने विश्वास लिइएको छ।


