Banijya News

नेपालकै पहिलो वाईन उद्योग ‘मकालु’ ले आईपीओ जारी गर्ने

1
1.0K Shares

नेपालकै पहिलो र ऐतिहासिक वाईन उद्योगको रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर हुने प्रतिशेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतापत्रमा मकालु वाईनका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरिसकेका छन्।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिकामा स्थापना भएको यस कम्पनीले विगत ३१ वर्षदेखि हिमाली क्षेत्रको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक “हिंवा वाईन” उत्पादन गर्दै आएको छ। करिब २० रोपनी आफ्नै जग्गा र आधुनिक प्रविधि रहेको यस उद्योगमा देवश्री भेन्चर, हारभेस्ट भेञ्चर लगायतका प्रतिष्ठित संस्थागत लगानीकर्ताहरूको लगानी रहेको छ।

निकट भविष्यमा अंगुरबाट बन्ने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने तयारी गरिरहेको यस कम्पनीको आईपीओ निष्काशनलाई नेपालको अर्गानिक उत्पादन क्षेत्रलाई पुँजी बजारसँग जोड्ने एउटा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।

1

Scroll to Top