नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा रिसोर्टसहितको भव्य र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण हुने भएको छ । एकै पटक कुल ४ हजार मानिस अटाउने विशाल क्षमताको ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर) निर्माण कार्य सुनिश्चित भएको हो ।
अन्तर्राष्ट्रिय मापदण्डको यस बहुप्रतीक्षित सम्मेलन केन्द्रको निर्माणसँगै पूर्वी नेपाल मात्र नभई सिङ्गो मुलुककै आतिथ्यता उद्योग र आर्थिक गतिविधिमा दूरगामी एवं सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । नेपालका स्थापित पर्यटन व्यवसायी देशबन्धु बस्नेत (अजित) ले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा अगाडि बढाएको यस वृहत् परियोजनाका लागि आवश्यक पर्ने कुल वित्तीय व्यवस्थापन (लोन सिन्डिकेसन) को काम समेत सफलतापूर्वक सम्पन्न भएको छ। यस मेगा प्रोजेक्टको वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंक लिमिटेडले मुख्य नेतृत्व (लीड बैंक) लिएको छ भने राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले यसमा बलियो सहकार्य गरेको छ ।
एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले नै यस नयाँ महत्वाकाङ्क्षी परियोजनाको रणनीतिक नेतृत्व गर्नेछन्। व्यवसायी बस्नेतले गत वर्ष मात्रै काठमाडौँमा अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मक्र्योर’ भित्र्याएका थिए भने हालै मात्र इटहरीमै पाँच तारे सुविधायुक्त ‘रमडा बाई विन्डम’ होटल सफलतापूर्वक सञ्चालनमा ल्याइसकेका छन् ।
छोटो समयमै दुई वटा अन्तर्राष्ट्रिय ब्राण्डेड होटल सञ्चालन गरेर आतिथ्य क्षेत्रमा दह्रो छाप छोडेका बस्नेतले इटहरीमै दोस्रो र आफ्नो व्यवसायिक करियरकै तेस्रो अन्तर्राष्ट्रिय स्तरको परियोजनाका रूपमा यो रिसोर्ट तथा कन्भेन्सन सेन्टर बनाउन लागेका हुन् । यो नवीन परियोजनाले पूर्वी नेपाललाई केवल आन्तरिक भ्रमणमा मात्र सीमित नराखी ठुला व्यावसायिक कार्यक्रम, वेडिङ डेस्टिनेसन (वैवाहिक समारोह), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन एवं औद्योगिक प्रदर्शनीको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेको छ। यसबाट पूर्वी नेपालका इलाम, कञ्चनजङ्घा, चतरा धाम, बराहक्षेत्र, कोशी टापु र भेडेटार जस्ता स्थापित पर्यटकीय गन्तव्यहरूको विश्वस्तरमा प्रचार-प्रसार हुनुका साथै नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकासमा समेत ठुलो टेवा पुग्ने देखिएको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतका उच्च तथा मध्यम वर्गका पर्यटकहरू पारिवारिक घुमफिर र भव्य विवाह समारोहका लागिसमेत नेपाल आउने क्रम बढ्दो छ। सीमावर्ती सहर इटहरीमा रिसोर्टसहितको यस्तो विशाल र अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण भएपछि भारतीय प्याकेज पर्यटक र विवाह गर्ने उच्च वर्गका विदेशीहरूको आगमन उल्लेख्य रूपमा बढ्ने अध्यक्ष बस्नेतले बताएका छन् । यसका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य उपक्षेत्रीय मुलुकहरूबाट हुने अन्तर्राष्ट्रिय सभा, समारोह तथा बहुराष्ट्रिय कम्पनीका सम्मेलनहरूका लागि समेत यो केन्द्र भौगोलिक र प्राविधिक रूपमा उपयुक्त हुने देखिएको छ।
इटहरीमा बन्न लागेको यो परियोजना विराटनगर–इटहरी–धरान आर्थिक तथा टुरिजम करिडोरलाई मुलुककै प्रमुख आर्थिक हबका रूपमा विकास गर्ने दीर्घकालीन बृहत् सोचको प्रतिफल हो । भारत, भुटान र बङ्गलादेशबाट दिगो रूपमा बढिरहेको पर्यटकीय तथा व्यावसायिक आवागमन, तीव्र गतिमा सुधार हुँदै गएको भौतिक पूर्वाधार र पूर्वको प्रचुर प्राकृतिक सम्भावनाले यस क्षेत्रलाई दक्षिण एसियाकै नवीनतम् पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने बलियो आधार तयार भएको बस्नेतको भनाइ छ ।
आफ्ना बैंकिङ साझेदार, लगानीकर्ता, व्यवस्थापकीय परामर्शदातासहित सहयोगी सरकारी निकायहरूप्रति आभार व्यक्त गर्दै अध्यक्ष बस्नेतले यो परियोजना केवल एउटा होटल वा भवन मात्र नभई पूर्वी नेपालको समग्र आर्थिक रूपान्तरण, ठुलो सङ्ख्यामा रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी विस्तारको बलियो आधारस्तम्भ बन्ने दाबी गरेका छन् । यो रिसोर्ट र सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ नागरिकले स्थानीय स्तरमै रोजगारी पाउने, कृषिसहित स्थानीय रैथाने उत्पादनहरूको खपत बढाउने र स्थानीय अर्थतन्त्रको आपूर्ति शृङ्खलामा चौतर्फी सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यस्तै, परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले पूर्वी नेपाललाई भारत, भुटान र बङ्गलादेशको पर्यटन तथा व्यावसायिक प्रवेशद्वार (गेटवे) का रूपमा विकास गर्ने बृहत् राष्ट्रिय अभियान अन्तर्गत नै ‘विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ निर्माणको थालनी गरिएको र यस अभियानलाई सफल बनाउन यो परियोजना कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् ।


