Banijya News

दिलसुन्दर श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड, २०२६’ प्रदान

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष (जिल्ला/नगर) दिलसुन्दर श्रेष्ठ ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड, २०२६’ बाट सम्मानित भएका छन्। कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत उनलाई सो अवार्ड प्रदान गरिएको हो। होतेले र्‍याडिसनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उपाध्यक्ष श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरे। यो कार्यक्रम ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो।

विगत चार दशकभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात–निर्यात तथा जलविद्युत् क्षेत्रमा सक्रिय श्रेष्ठ निजी क्षेत्रका अग्रणी नेतृत्वकर्ता हुन्। निजी क्षेत्रको सशक्तीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा उनले पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै यो अवार्ड दिइएको कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए। उद्यमशीलता प्रवर्द्धनसँगै शिक्षा र सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि श्रेष्ठ उत्तिकै सक्रिय छन्।

यस वर्षको समारोहमा ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ गरी कुल पाँचवटा मुख्य विधामा २९ वटा अवार्ड प्रदान गरिएको थियो। नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, स्वास्थ्य, ऊर्जा र उद्यमशीलतामा उल्लेखनीय योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहन गर्न विगत १८ वर्षदेखि यो अवार्ड निरन्तर आयोजना हुँदै आएको छ।

अवार्ड वितरणसँगै कार्यक्रममा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका चुनौतीबारे गहन छलफल भएको थियो। अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी विस्तार गर्न र रोजगारी सिर्जना गर्न निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे पनि सरोकारवालाहरूले विचार विमर्श गरे। समारोहमा सङ्घीय सांसद, अर्थशास्त्री, देशैभरका उद्योगी–व्यवसायी, बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

1

Scroll to Top