पूर्वी नेपालको पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्दै आएको शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको कूल २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो। यस सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।
यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनलका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ। उक्त सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो।
विराटनगरको धरान रोडमा अवस्थित यस कम्पनीले गत ३० अप्रिल २०२६ देखि अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ। भारतको प्रतिष्ठित ‘लेमन ट्री होटल्स’ समूह अन्तर्गतको ‘कार्नेशन होटल्स प्रा. लि.’ सँगको व्यवस्थापन साझेदारीमा सञ्चालित यो होटल विराटनगरकै पहिलो अन्तर्राष्ट्रिय ब्राण्डको पाँचतारे होटल हो। व्यावसायिक यात्री, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह र विशेष समारोहका लागि विश्वस्तरीय सेवा दिने लक्ष्य राखेको यस होटलले पूर्वी नेपालको आर्थिक गतिविधि र पर्यटन प्रबर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास लिएको छ। साथै, कम्पनीले निकट भविष्यमै क्यासिनो समेत सञ्चालन गर्ने योजना बनाएको छ।


