Banijya News

ह्युन्डाई स्यान्ट्रोको २५ वर्ष: नेपालमा साना गाडीप्रतिको धारणा बदल्ने एक सफल यात्रा

1
1.1K Shares

नेपाली सडकमा साना गाडी (ह्याचब्याक) को परिचय र परिभाषा बदल्न सफल ह्युन्डाई स्यान्ट्रोले व्यावसायिक यात्राको २५ वर्ष पूरा गरेको छ । सन् १९९९ मा दक्षिण एसियाली बजारमा सार्वजनिक भएको यस गाडीले नेपालमा भित्रिएसँगै जापानी ब्रान्डहरूको एकल वर्चस्वलाई तोड्दै मध्यवर्गीय नेपाली परिवारको पहिलो रोजाइ बन्न सफल भएको हो ।

सन् १९९० को दशकको अन्त्यतिर नेपाली बजारमा सीमित ब्रान्डका गाडीहरू मात्र उपलब्ध थिए । सन् १९९९ मा ह्युन्डाई इन्डियाले स्यान्ट्रोलाई बजारमा ल्याएपछि यसको प्रभाव नेपालमा पनि देखिन थाल्यो, टोल ब्वाईु डिजाइन र उत्कृष्ट इन्जिन क्षमताका कारण यो गाडीले छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्यो । नेपालको भूगोल र साँघुरा सडकहरूका लागि उपयुक्त हुनु नै यसको सफलताको मुख्य कडी बन्यो ।

स्यान्ट्रो आउनुअघि सानो गाडी भन्ने बित्तिकै मानिसहरू आराम र सुरक्षामा शङ्का गर्थे । तर स्यान्ट्रोले सानो गाडी पनि भरपर्दो, सुविधायुक्त र मर्मत सम्भारमा सहज हुन सक्छ भन्ने प्रमाणित गरिदियो । यसले नेपाली ग्राहकहरूमा ह्याचब्याक गाडीप्रति रहेको पुरानो धारणालाई पूर्ण रूपमा परिवर्तन गरिदियो । मध्यम वर्गीय परिवारका लागि यो केवल एउटा गाडी मात्र नभई सामाजिक प्रतिष्ठा र सुलभ यात्राको पर्याय बन्यो ।

नेपाली सडकको अवस्था र यहाँको पारिवारिक संरचना अनुसार स्यान्ट्रोको बनावट निकै व्यावहारिक देखियो । ग्राउन्ड क्लियरेन्स, इन्धन खपतमा किफायती र आकर्षक भित्री सजावटले गर्दा यसलाई भरोसाको साथी मान्न थालियो । धेरै नेपालीहरूका लागि आफ्नो जीवनको पहिलो गाडी स्यान्ट्रो नै बन्यो, जसले गर्दा ह्युन्डाई ब्रान्डप्रति नेपालमा एउटा बलियो जनविश्वास पैदा भयो।

आफ्नो २५ वर्षे सफल यात्राको अवसरमा ह्युन्डाई नेपाल र ह्युन्डाई इन्डियाले विशेष सहकार्य गर्दैछन् । विशेष गरी सन् २००० मोडेलका स्यान्ट्रो अझै पनि प्रयोग गरिरहेका पुराना ग्राहकहरूलाई लक्षित गरी कम्पनीले सरप्राइजु कार्यक्रमहरू ल्याएको छ । गाडीको प्राविधिक यात्रालाई मात्र नभई, ग्राहकसँगको भावनात्मक सम्बन्ध र भरोसाको विरासतलाई पनि सम्मान गर्ने कम्पनीको उद्देश्य छ ।

ह्युन्डाई स्यान्ट्रोले नेपालको अटोमोबाइल क्षेत्रमा एउटा ऐतिहासिक छाप छाडेको छ । प्रतिस्पर्धी बजारमा आएका अनेकौँ नयाँ मोडलहरूका बीच पनि स्यान्ट्रोको विरासत र यसले स्थापित गरेको गुणस्तरको मानक आजको पुस्ताका लागि पनि उत्तिकै प्रेरणादायी रहेको अटो व्यवसायीहरू बताउँछन् ।

1

Scroll to Top