Banijya News

एनेस्थेसिया चिकित्सकको अभावमा सेवा प्रभावित

1
1.1K Shares

सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको अभावमा डेढ महिनादेखि शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प भएका छन् । एनेस्थेसिया (बेहोस बनाउने ) दुई जना चिकित्सक को दरबन्दी रहेको उक्त अस्पतालमा हाल दुबै जनाको दरबन्दी रिक्त हुँदा डेढ महिनाभन्दा बढी समयदेखि शल्यक्रियाका सबै सेवा ठप्प भएको हो  ।

सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत एक जना एनेस्थेसिया चिकित्सकको लमजुङ सरुवा भएपछि उक्त समस्या आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एनेस्थेसिया चिकित्सकको अभावमा डेलिभरी (सुत्केरी), हाडजोर्नी, पत्थरी, एपेन्डिसाइटिस सहित सानादेखि ठूलासम्मका सबै किसिमका शल्यक्रियाका सेवा ठप्प अवस्थामा रहेको छ ।

अस्पतालका अनुसार शल्यक्रिया गर्ने सबै किसिमका विशेषज्ञ चिकित्सक उपलब्ध भएर पनि यतिखेर कामविहीन अवस्थामा  छन् । एनेस्थेसिया चिकित्सक हुँदा सबै खाले शल्यक्रियाका सेवाहरू राम्रोसँग चलि रहेको थियो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले पठाएर केही समय काम गरेको एनेस्थेसिया चिकित्सकलाई सङ्घीय स्वास्थ्य मन्त्रालयले जिल्ला र प्रदेशलाई थाहै नदिई सरुवा गरेर लमजुङ पठाउँदा उक्त समस्या आएको अस्पताल विकास समितिका अध्यक्ष शतशचन्द्र ढकालले बताए । उनले भने,, ‘विशेषज्ञ चिकित्सक र उपकरण सबै हुँदा हुँदै एनेस्थेसियाको एक जना चिकित्सकको कारण शल्यक्रियाका सबै सेवा नै ठप्प छ ।’

जिल्लामा उक्त (एनेस्थेसिया) चिकित्सकको अभाव भएपछि सङ्घीय स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालमा कार्यरत चिकित्सक कुशल रञ्जितलाई फागुन २७ गते नै सिन्धुलीका लागि काज सरुवा गरेको भएपनि रमना बुझेर पनि हालसम्म उहाँ हाजिर हुन नआएको अध्यक्ष ढकालले गुनासो गरे ।

‘चिकित्सक रञ्जितको सरुवा पत्र आएको छ, मान्छे आएका छैनन् । उनले भने ‘एनेस्थेसिया चिकित्सक ल्याउन भन्नु पर्ने जति सबै ठाँउमा भनी सक्यौ, पहल पनि भइरहेको छ । अहिलेसम्म उपाय लागेको छैन ।’ सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको दुई जनाको स्वीकृत दरबन्दी भएपनि हालसम्म दुई जना चिकित्सक कार्यरत नभएको उनले सुनाए । अस्पतालका अनुसार एनेस्थेसिया चिकित्सक भर्नाका लागि अस्पतालले अहिलेसम्म चार पटक १५ दिने सूचना जारी गरी विज्ञापन गरेको भएपनि हालसम्म कसैले पनि दरखास्त पेस गरेका छैनन् । 

पछिल्लो पटक डेढ महिनाअघि उक्त विज्ञापन भएको थियो । एनेस्थेसिया चिकित्सकको दुई जना दरबन्दी भएपनि एक जनाको दरबन्दी लामो समयदेखि रिक्त रहेको छ । कार्यरत अर्का एक चिकित्सकको पनि सरुवा भएपछि समस्या भएको अस्पतालको निमित्त निर्देशक सुशान्तकुमार खड्काले जनाएका छन । दुई वर्षअघि ५० शैथ्याबाट बिस्तार गरी एक सय शय्य  पुर्‍याएर प्रादेशिक अस्पताल बनाइए पनि विशेषज्ञ चिकित्सकको अभावसँगै सेवा प्रभावित बन्दै गएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालमा सिटिस्क्यान मेसिन चालु भएपनि रेडियोलो जिष्ट चिकित्सक झण्डै तीन बर्षदेखि अभाव रहेको छ । अस्पताल विकास समितिका अध्यक्ष ढकालले भने, ‘अहिले सिटिस्क्यान सेवा काठमाडौँको अस्पतालसँग समन्वय गरी सञ्चालन गरि रहेका छौं ।’ उक्त अस्पतालमा नाक, कान, घाँटीको बिेशेषज्ञ सेवा, छालाको विशेषज्ञ सेवा अभाव रहेको अस्पतालले जनाएको छ ।अस्पतालमा दरबन्दी रहेका विशेषज्ञ चिकित्सिकहरु मध्ये बालरोगको एक, मनोबिज्ञानको एक, एनेस्थेसियाको दुई, जनरल फिजिसियन एक र रेडियोलोजिष्ट दुई जनाको दरबन्दी रिक्त छ । 

त्यस्तै भौतिक पुर्वाधारतर्फ शय्या बिस्तार गर्न भवनको समस्या रहेको छ । प्रदेश सरकारले एक सय बेडको अस्पताल घोषणा गरे पनि भवनको समस्याले अहिले ५० बेडबाट बढाएर करिब ८५ बेड मात्रै सञ्चालन हुँदै आएको अस्पतालले जनाएको छ । 

1

Scroll to Top