चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको पहिलो छ महिनामा ८ हजारभन्दा बढी कार आयात भएका छन् । भन्सार विभागका अनुसार पुस मसान्तसम्म ८ हजार २ सय ७२ युनिट कार, जीप र भ्यान आयात भएका छन्, जसमा पेट्रोल र विद्युतीय दुवै समावेश छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवमा कार आयात ९.८२ प्रतिशतले बढेको हो । चालु आवमा कुल १५ अर्ब २ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले १४ अर्ब ७ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवमा समग्र कार आयात बढे पनि विद्युतीय कार आयात ७.४२ प्रतिशतले घटेको छ । गत वर्ष ६ महिनामा ५ हजार ४ सय ८० युनिट आयात भएकामा चालु वर्ष ५ हजार ७३ युनिटमा सीमित भएको हो । चालु आवमा १२ अर्ब ६ करोड रुपैयाँका ईभी आयात हुँदा ७ अर्ब ४५ करोड राजस्व संकलन भएको छ । बजेटअघि कर बढ्ने हल्लाका कारण व्यवसायीले ठूलो परिमाणमा ईभी आयात गरेकाले ती अझै बिक्री नहुँदा आयात घटेको बताइएको छ ।
चालु आवमा ५० किलोवाटसम्मका १५८५ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३०१७ , १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४ ६३ र २०१ किलोवाट माटिथका ६ युनिट ईभी भित्रिएका छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।
चालु वर्षमा ईभी कार आयात घटे पनि पेट्रोल कार आयातमा ५५.९ प्रतिशत वृद्धि हुँदै ६ महिनामा ३ हजार १ सय ९९ युनिट भित्रिएका छन्, जसमा १ हजार ५ सय ८३ युनिट अनएसेम्बल कार छन् । गत वर्ष सोही अवधिमा २, हजार ५२ युनिट पेट्रोल कार आयात भएको थियो । कुल आयातमा हुन्डाईको हिस्सा ४९.४८ प्रतिशत रहेको छ, जसले पेट्रोल कार बजारमा वर्चस्व कायम राखेको छ ।


