Banijya News

राजस्वसचिव बराललाई नाडाले दियो सुझाव, के छ सुझावमा ?

1
1.1K Shares

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शिथिल अवस्थामा रहेको नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीतिनियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजस्व र रोजगारीमा पनि वृद्धि हुने धारणा राखेको नाडाले जनाएको छ।

अटोमोबाइल प्रतिनिधिहरुसंगको सो छलफलको क्रममा राजस्वसचिव भूपाल बरालले नाडाबाट प्राप्त सुझावहरु कार्यान्वयन योग्य रहेको र यी समस्याहरुको विषयमा आफू जानकार समेत रहेको बताए। यसै क्रममा अध्यक्ष उपे्रतीले सीकेडी उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगहरुको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नु पर्ने, त्यस्ता उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु आयात गर्दा छुटको व्यवस्था हुनुपर्ने भन्दै यसले देशको रोजगारीमा बृद्धि ल्याउने र राजस्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए।

अध्यक्ष उप्रेतीले कतिपय अटोमोवाइल वस्तुहरु नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसँग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताए। सो छलफलमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरुको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजस्व प्राप्तिमा समेत बृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढने हुंदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पुनर्मूल्याङ्कनका लागि आग्रह समेत गरे।

यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजस्व र रोजगारीमा वृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनहरुलाई विलासिताको वस्तुमा राखी वर्गीकरण गर्दै आएको गुनासो गरे। यसै सिलसिलामा नाडाका सल्लाहकार श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने धारणा राखे। यसैक्रममा श्रेष्ठले महशुलमा समायोजन गर्नुपर्ने समय आएको भन्दै सरकारले अटोमोवाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रह समेत गरे। सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतीय सवारीसाधनहरुको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरु उठेको सन्दर्भमा नाडा सरकारसंग सहकार्य गर्न तयार रहेको बताए। उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतकोे उपस्थिति रहेको थियो।

1

Scroll to Top