Banijya News

पद दुरुपयोगको आरोपपछि श्रम मन्त्री दिपककुमार साह पदमुक्त

1
1.2K Shares

प्रधानमन्त्री वालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेका छन्। यो निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार गरिएको हो। रास्वपा सभापति रवि लामिछाने ले मन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेका थिए। आरोप अनुसार, मन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा सक्रिय रूपमा संलग्न गराएका थिए, जसले नैतिकता र सुशासनमाथि प्रश्न उठाएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले गरेको अध्ययनपछि यस्तो गतिविधिले पार्टीको छवि र सिद्धान्तमा गम्भीर असर पर्ने निष्कर्ष निकालिएको थियो। सोही प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष कारबाहीको प्रस्ताव पेश गरेका थिए। रास्वपाले आफ्नो विधान अनुसार पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकल’ लागू गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै तत्काल मन्त्री साहलाई जिम्मेवारीबाट हटाउन जोड दिएको थियो।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई पनि उक्त विषयमा आवश्यक गम्भीरता नदेखाएको भन्दै सचेत गराइएको छ। सरकारको यो कदमलाई सुशासन र जवाफदेहितातर्फको सन्देशका रूपमा हेरिएको छ भने राजनीतिक वृत्तमा यसले व्यापक चर्चा पाएको छ।

1

Scroll to Top