प्रभु बैंकबाट लिएको करोडौँ रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन्। ५८ वर्षीय शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौंको पिङ्गलास्थानबाट नियन्त्रणमा लिएको हो। उच्च अदालत पाटनको अनुमति लिएर पक्राउ गरिएका शर्मामाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको छ।
नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त रिसोर्टले निर्माण कार्य तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएको फेला परेको थियो। तर रिसोर्टले सो रकम तोकिएको उद्देश्यमा खर्च नगरी आफ्नै समूहका अन्य ऋणी कम्पनी तथा पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू आबद्ध कम्पनीको पुराना बक्यौताहरू चुक्ता गर्न प्रयोग गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंकको नाममा जग्गा दृष्टिबन्धक समेत नगरी, पछि गर्ने भन्ने ठाडो सहमतिपत्रका आधारमा वित्तीय जोखिम मोलेर यो कर्जा प्रवाह गरिएको थियो। यसरी कर्जाको रकम अन्यत्रै दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ बमोजिमको कसुर गरेको पाइएपछि राष्ट्र बैंकले सीआईबीलाई कानुनी कारबाहीका लागि पत्राचार गरेको थियो।


