नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ विद्युतीय गाडी ‘इमास फाइभ’ (e.MAS 5) बिक्री सुरु गरेको छ। यो गाडी वास्तवमा चीनको ‘जिली जिङयुआन’ मोडलकै प्रोटोन ब्राण्ड रूप हो। कम्पनीले सुरुका १०० जना ग्राहकका लागि विशेष छुट दिँदै प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। छुट सकिएपछि यसको आधिकारिक मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ हुनेछ।
इमास फाइभ दुई फरक भेरियन्टमा उपलब्ध छ। प्राइम भेरियन्टमा ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा २२५ किमी रेन्ज दिन्छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको ठूलो मोटर र ४०.१६ किलोवाट आवरको ब्याट्री छ, जसले ३२५ किमी सम्मको रेन्ज दिन्छ। पछाडिको चक्काले काम गर्ने (रियर ह्वील ड्राइभ) यो गाडीको टर्निङ रेडियस ४.९५ मिटर मात्र भएकाले सहरी तथा साँघुरो बाटोमा चलाउन धेरै सहज हुन्छ।
यस गाडीको भित्री बनावट निकै आधुनिक र आकर्षक छ। गाडीभित्र ८.८ इन्चको डिजिटल मिटर, १०.१ वा १४.६ इन्चको ठूलो टचस्क्रिन, ५० वाटको द्रुत वायरलेस चार्जर र २५६ वटा रङमा फेर्न सकिने एम्बियन्ट लाइट दिइएको छ। त्यसैगरी, यात्रुको सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र एडास (ADAS) जस्ता आधुनिक सुरक्षा प्रविधिहरू राखिएका छन्।


