नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो र ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले गत आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ। वीरेन्द्र बहादुर बस्नेत अध्यक्ष रहेको यस कम्पनीले एउटा एटीआर–४२ र १४ वटा एटीआर–७२ गरी कूल १५ वटा जहाजमार्फत आन्तरिक उडानका साथै भारतको बनारस र कोलकातामा सेवा दिइरहेको छ। यद्यपि, अघिल्लो वर्ष ६० प्रतिशत रहेको कम्पनीको बजार हिस्सा हाल घटेर ५७ प्रतिशतमा सीमित भएको छ।
इरान–अमेरिका तनावका कारण इन्धनको मूल्य वृद्धि हुँदा सन् २०२५ अप्रिलको तुलनामा सन् २०२६ अप्रिलमा बुद्ध एयरका यात्रुको संख्या ३३ प्रतिशतले घटेको छ भने समग्र ९ महिनामा पनि १० प्रतिशतको कमी आएको छ। न्यूनतम भाडादर सम्झौताले प्रति किलोमिटर उपलब्ध सिट आम्दानी २१.२ रुपैयाँ पुगे तापनि सञ्चालन, कर्मचारी र मर्मत खर्च बढ्दा खुद सिट आम्दानी २.८ रुपैयाँमा सीमित हुन पुगेको छ।
इन्धनको मूल्यमा भएको वृद्धि, उच्च इन्जिन मर्मत तथा ओभरहल खर्चका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा दबाब परेको छ। सन् २०२५ मा १९.४ प्रतिशत र सन् २०२३ मा १० प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत आवको साढे ९ महिनाको अवधिमा घटेर ८.२ प्रतिशतमा झरेको छ। तर, यस बीचमा क्षति पुगेको विमानको बीमा दाबीबाट प्राप्त गैर–सञ्चालन आम्दानीले कम्पनीको आम्दानीमा सकारात्मक योगदान पुर्याएको छ।
बुद्ध एयरले यसअघि सन् २०२५ मा १३ अर्ब ६७ करोड, सन् २०२४ मा १३ अर्ब २२ करोड, सन् २०२३ मा १२ अर्ब १६ करोड र सन् २०२२ मा १० अर्ब ९ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। कम्पनीले नाफा सञ्चित गर्ने नीति लिँदै सन् २०२४ र २०२५ मा १ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो, जसका कारण दीर्घकालीन ऋण अग्रिम भुक्तानी गर्न र पुँजीकरण अवस्था सहज बनाउन मद्दत पुगेको छ।
कम्पनीको ऋण भुक्तानी क्षमता सूचकहरू अझै पनि सहज अवस्थामै रहेका छन्। साढे ९ महिनाको अवधिमा ऋण सेवा कभरेज अनुपात २.० गुणा र गियरिङ अनुपात १.० गुणा रहेको छ। वित्तीय व्यवस्थापनका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका तर्फ ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ र १ करोड ३७ लाख अमेरिकी डलर बराबरको रकमको क्रेडिट रेटिङ गराएको छ।


