Banijya News

द्विपक्षीय व्यापार र लगानी बढाउन नेपाल-स्पेनी चेम्बरबीच बैठक

1
1.0K Shares

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको छ। नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बरकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटमा नेपालको राजनीतिक स्थायित्व र चीन–भारतबीचको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै आर्थिक सम्बन्ध सुदृढ बनाउने विषयमा विचार विमर्श भयो।

यसै क्रममा दुई चेम्बरबीच सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने र सन् २०२७ को फेब्रुअरी–मार्चमा आठदेखि नौ वटा स्पेनी कम्पनी सम्मिलित व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने सहमति भएको छ।

भेटवार्ताका क्रममा व्यापार तथा लगानी प्रवर्द्धनका लागि सरकारी तहको समन्वय प्रभावकारी बनाउने, व्यावसायिक भिसा सहज बनाउने र युरोपेली संघ (ईयू) तथा भारतबीचको व्यापार वार्ताबाट नेपालले लिन सक्ने लाभबारे चर्चा गरियो। दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, जल व्यवस्थापन, स्मार्ट सिटी, पर्यटन, कृषि तथा खाद्य प्रशोधनलाई भावी सहकार्यका प्राथमिकताका क्षेत्रका रूपमा पहिचान गरेका छन्। दक्षिण एसियामा अनुभव हासिल गरिसकेका स्पेनी कम्पनीहरू नेपालको पूर्वाधार विकास, स्वच्छ ऊर्जा र दिगो लगानीका परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने धारणा बैठकमा व्यक्त गरिएको थियो।

यसैगरी, नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, अलैँची, जडीबुटी, पश्मिना, गलैँचा, हस्तकला र चाँदीका गरगहना स्पेन निर्यात गर्ने पर्याप्त सम्भावना रहेको बताइएको छ। अर्कोतर्फ, स्पेनले सिँचाइ, स्वास्थ्य उपकरण, पानी प्रशोधन र पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि नेपालसँग साझेदारी गर्न सक्नेछ। द्विपक्षीय व्यापार विस्तारका लागि म्याड्रिड, बार्सिलोना र काठमाडौँमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउने तथा डिजिटल व्यापार र ई–कमर्सलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुवै संस्थाले आगामी दिनमा नेपाल–स्पेन आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छन्।

1

Scroll to Top