Banijya News

कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

1
1.0K Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकको समग्र व्यवसाय विस्तार भए तापनि खुद नाफामा भने संकुचन आएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा यस वर्ष करिब १९.९८ प्रतिशतले घट्न पुगेको हो ।

बैंकको नाफा घट्नुमा खुद ब्याज आम्दानीमा आएको गिरावट र ब्याज खर्चमा भएको उल्लेख्य वृद्धि मुख्य कारक बनेका छन्। बैंकको ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट तीव्र रूपमा बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यसका कारण बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँबाट खुम्चिएर १ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ।

नाफामा परेको दबाबका बाबजुद बैंकका केही सूचकहरूमा भने सकारात्मक सुधार देखिएको छ। बैंकले शुल्क तथा कमिसन आम्दानी बढाएर ५ करोड ८० लाख रुपैयाँ पुर्‍याएको छ भने सम्भावित कर्जा नोक्सानी व्यवस्था ९इम्पेयरमेन्ट चार्ज० बाट २१ करोड २७ लाख रुपैयाँ फिर्ता भई नाफामा केही राहत मिलेको छ। यसैगरी बैंकको कर्जा तथा लगानी २४ अर्ब ९४ करोडबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ।

नाफामा आएको कमीले गर्दा प्रतिसेयर आम्दानी ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ। यद्यपि, बैंकको खराब कर्जा शून्य प्रतिशत रहनु र पुँजी पर्याप्तता अनुपात ६७.१५ प्रतिशतको मजबुत स्थितिमा हुनुले भविष्यमा ठूला पूर्वाधार परियोजनाहरूमा सजिलै लगानी विस्तार गर्न सक्ने उच्च क्षमता प्रस्तुत गर्दछ।

1

Scroll to Top