पूर्वी नेपालमा केन्द्रीय कार्यालय भई सञ्चालनमा रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा तथा अन्य प्रमुख सूचकहरूमा सुधार आएको जनाएको छ। समीक्षा अवधिमा बैंकले १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको १२ करोड ९५ लाख रुपैयाँको तुलनामा ८.९८ प्रतिशतले बढी हो ।
विशेष गरी ब्याज खर्चमा आएको कटौतीले बैंकको खुद ब्याज आम्दानी बढाउन ठूलो योगदान पुर्याएको छ। अघिल्लो वर्ष २० करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ५०.३० प्रतिशतको उल्लेख्य वृद्धिीसहित ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। आम्दानीका स्रोतहरू सबल बनेसँगै बैंकको सञ्चालन नाफा पनि १८ करोड ५७ लाख रुपैयाँबाट उकालो लाग्दै २० करोड १७ लाख रुपैयाँ पुगेको छ।
गत असार मसान्तसम्मको वित्तीय स्थिति अनुसार बैंकसँग शेयरधनीहरूलाई वितरण गर्न मिल्ने नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ। बैंकको हालको चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँलाई आधार मान्दा शेयरधनीहरूलाई अधिकतम १२.७३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता सिर्जना भएको देखिन्छ। यसैबीच, ग्राहक निक्षेप सङ्कलन ६ अर्ब ५० करोड रुपैयाँबाट विस्तार भई ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
बैंकिङ क्षेत्रमै उदाहरणीय मानिने गरी मितेरी बैंकले आफ्नो निष्क्रिय कर्जा व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन गरेको छ। अघिल्लो आर्थिक वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा झनै घटेर ०.२६ प्रतिशतमा सीमित हुनुले बैंकको कर्जा असुली र जोखिम व्यवस्थापन अत्यन्तै सुरक्षित रहेको पुष्टि गर्दछ। साथै, समीक्षा अवधिमा बैंकको कोषको लागत ५.१२ प्रतिशतबाट घटेर ४.२२ प्रतिशत र आधार दर ५.९८ प्रतिशतमा झरेको छ।
वित्तीय सूचकहरूमा आएको यस सुधारले बैंकको प्रति शेयर आम्दानीलाई पनि सकारात्मक प्रभाव पारेको छ, जुन अघिल्लो वर्षको १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको प्रति शेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा कायम भएको छ भने पूँजी कोष अनुपात २५.७५ प्रतिशत रहेको छ।


