ऋण चुक्ता गर्न बैंकले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋणी र जमानतकर्ताहरूले ऋण फछ्र्यौटमा कुनै चासो नदेखाएपछि बैंकले कडा कदम चालेको छ। ३५ दिने र १५ दिने सार्वजनिक सूचनाको बेवास्ता भएपछि बैंकले अन्तिम पटक ७ दिनको म्याद दिँदै धितो लिलामीको अन्तिम सूचना जारी गरेको हो।
यो सूचनासँगै बैंकले सावाँ, ब्याज र हर्जाना असुलीका लागि ऋणीहरूको सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। लिलामीमा राखिएको पहिलो फर्म उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति सञ्चालक र जमानतकर्ता रहेको ‘नर्थ फेस होटल प्रालि” हो। बैंकले यस कम्पनीको धितोका रूपमा रहेको काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित दर्जनभन्दा बढी कित्ता जग्गा र त्यसमा बनेका सम्पूर्ण भौतिक संरचनाहरू बिक्रीमा राखेको छ। बैंकका अनुसार यी सबै सम्पत्तिहरू ‘जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ लिलाम बिक्री गरिनेछ ।
त्यस्तै, हिरो मोटरसाइकलको पूर्व आधिकारिक वितरक ‘नेपाल जनरल मार्केटिङ प्रालि’ को नाममा रहेको ठूलो परिमाणको चालु तथा स्थिर सम्पत्ति पनि लिलामीमा चढाइएको छ। यस कम्पनीमा रुप ज्योतिसहित उनका छोरा अभिक ज्योति र छोरी सुरुची ज्योति जमानतकर्ता रहेका छन्। धितोका रूपमा ललितपुर, काठमाडौँको डिल्लीबजार र कलङ्कीका घरजग्गाका साथै पर्साको चोर्नीस्थित ठूलो क्षेत्रफलको जग्गा र कम्पनीको मौज्दात ९स्टक० तथा चालु सम्पत्तिमा रहेको हाइपोथिकेशन सुरक्षणसमेत लिलामीमा समावेश गरिएको छ।
इच्छुक बोलपत्रदाताले साउन १४ गतेभित्र काठमाडौँको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा शिलबन्दी आवेदन बुझाउनुपर्नेछ भने प्राप्त बोलपत्र साउन १५ गते दिउँसो १ बजे खोलिनेछ। बैंकले धितो लिलामीबाट पनि सम्पूर्ण बक्यौता असुल नभए प्रचलित कानुनबमोजिम ऋणी तथा जमानतकर्ताहरूको अन्य व्यक्तिगत जायजेथाबाट रकम असुल गर्ने चेतावनी दिएको छ। साथै, खरिदकर्ताले नै सरकारी राजस्व, लाभकर र नामसारीका सम्पूर्ण दस्तुरहरू व्यहोर्नुपर्ने सर्त राखिएको छ।


