Banijya News

बुढाथोकी कोल्ड स्टोरेजले गर्यो १ अर्ब ८ करोडको कारोबार

1
1.0K Shares

काठमाडौँको सितापाइलामा प्रशोधन युनिट र कोल्ड स्टोरेज सञ्चालन गर्दै आएको बुढाथोकी कोल्ड स्टोरेजले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। सन् १९९६ मा स्थापना भएको यस कम्पनीले सन् २०१५ सम्म केवल कोल्ड स्टोरेजको सेवा दिँदै आएकोमा पछि मासु प्रशोधन प्लान्ट स्थापना गरी चिकन, पोर्क र बफको बिक्री वितरण थालेको थियो।

लगातार क्षमता विस्तार गरिरहेको कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर १ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्दै आएको छ ,जसमा सन् २०२३ मा १ अर्ब १ करोड र २०२४ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो’।

हलाल नेपाल सर्भिस प्रालिबाट इजाजतप्राप्त यस कम्पनीले काठमाडौँ उपत्यकाभित्र १० वटा शाखाहरू सञ्चालन गरिरहेको छ। शाखाहरूका अलावा कम्पनीले विभिन्न होटल, ब्याङ्क्वेट तथा डिपार्टमेन्ट स्टोरहरूमा समेत ताजा तथा फ्रोजन मासुका परिकारहरू आपूर्ति गर्दै आएको छ। सन् २०२२ देखि २०२५ सम्मको अवधिमा पूँजीगत खर्च बढाएर क्षमता विस्तार गरेको कम्पनीले गत आर्थिक वर्षमा १५ प्रतिशत सञ्चालन मार्जिन हासिल गर्न सफल भएको छ।

उत्पादन क्षमता अभिवृद्धि गर्ने क्रममा कम्पनीले प्रति ब्याच १ लाख २० हजार कुखुरा उत्पादन गर्दै आएकोमा त्यसलाई बढाएर २ लाख ६० हजार पुर्‍याएको छ। साथै, ब्लास्ट फ्रिजिङ, आधुनिक स्लटरहाउस, चिलिङ रुम र अन्य आवश्यक उपकरणहरूमा निरन्तर लगानी बढाउँदै लगेको छ। यसै लगानीको प्रतिफलस्वरूप कम्पनीको कुल नगद सञ्चिति अघिल्लो वर्षको ७ करोड ३० लाख रुपैयाँबाट बढेर गत आवमा ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकतातर्फ कम्पनीको समग्र गियरिङ अनुपात मध्यम स्तरमा अर्थात् १.५६ गुणा (सन् २०२४ मा १.५९ गुणा) रहेको छ भने ब्याज कवरेज अनुपात १.९५ गुणा र कुल ऋणरकुल नगद सञ्चिति १२.०८ गुणा रहेको छ। बसन्तप्रकाश बुढाथोकीको नेतृत्वमा सञ्चालित यस कम्पनीले आफ्नो भावी व्यावसायिक योजनाका लागि कुल १ अर्ब ५० करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जाका लागि ९८ करोड र अल्पकालीन कर्जाका लागि ५२ करोड रुपैयाँ छुट्ट्याइएको छ।

1

Scroll to Top