पञ्चकन्या समूह अन्तर्गतका पाईप उत्पादन गर्ने पञ्चकन्या प्लाष्ट प्रा.लि. र स्टेनलेस स्टील टङ्की उत्पादन गर्ने पञ्चकन्या एस.एस. प्रा.लि.ले वातावरण तथा दिगो विकासको क्षेत्रमा कार्यरत भारतीय संस्था ‘कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री’ बाट प्रतिष्ठित ‘ग्रिन प्रो’ मानक प्राप्त गरेका छन्। भारतको पुणेमा आयोजित ‘९औँ संस्करणको ग्रिन प्रो समिट २०२६’ मा यी कम्पनीहरूलाई उक्त मानक प्रदान गरिएको हो। वस्तुको उत्पादन चक्र, वातावरणीय प्रभाव, दिगो विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा औद्योगिक सुरक्षाजस्ता कठोर मापदण्डहरू पूरा गरेपछि मात्र यो अन्तर्राष्ट्रिय मान्यता दिइन्छ। यसअघि पञ्चकन्या स्टिल प्रा।लि।ले उत्पादन गर्ने फलामे छडले एक वर्ष पहिले नै नेपालकै पहिलो ुग्रिन प्रोु मानक प्राप्त गरिसकेको थियो।
स्थापनाकालदेखि नै वातावरण संरक्षण, नवप्रवर्तन र दिगो विकासलाई उच्च प्राथमिकता दिँदै आएको पञ्चकन्या समूहले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरेको लगानीका लागि वैदेशिक दाता संस्थाहरूबाट समेत पटक(पटक पुरस्कार प्राप्त गरिसकेको छ। दिगो र वातावरणमैत्री औद्योगिक अभ्यासलाई अघि बढाउने क्रममा समूहले आफ्ना उत्पादन प्रक्रियालाई थप प्रविधिमैत्री र ऊर्जा–दक्ष बनाउँदै लगेको छ।
नेपालमा पहिलो पटक स्टेनलेस स्टील टङ्कीको उत्पादन सुरु गरेको पञ्चकन्या समूहले हाल काठमाडौँ र रुपन्देहीको कोटिहवास्थित उद्योगहरूबाट १२५ लिटरदेखि १०,००० लिटर क्षमतासम्मका टङ्कीहरू उत्पादन गर्दै आएको छ। विगत ८ वर्षदेखि भारतका गोरखपुर, लखनउ, बस्ती र कोलकाता जस्ता सहरहरूमा आधिकारिक विक्रेतामार्फत टङ्की निर्यात भइरहेको छ। दक्षिण भारतको बेङ्गलुरु क्षेत्रबाट समेत अत्यधिक माग आए तापनि ढुवानी लागतका कारण पुर्याउन समस्या परेको जानकारी उद्योगका महाप्रबन्धक देवेन्द्र साहूले गराउनुभएको छ।
यसैगरी, नेपालमा पहिलो पटक पाईप उत्पादन गर्ने श्रेय पनि पञ्चकन्या समूहलाई नै जान्छ। उद्योगले वि.सं. २०६३ देखि जापानी कच्चा पदार्थ प्रयोग गरी १५ एम.एम. देखि १०० एम.एम. सम्मका पाईपहरू उत्पादन गर्दै आएको छ, जुन नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो पाईपसमेत हो। यो उपलब्धिपछि पञ्चकन्या समूहले आफ्ना सम्पूर्ण ग्राहक, व्यावसायिक साझेदार, वितरक तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि अझ गुणस्तरीय, नवप्रवर्तनयुक्त र वातावरणमैत्री उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ।


