राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बिच ५ घण्टा वार्ता भएको छ ।
काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा साँझ ६ बजेबाट वार्ता सुरु भएको थियो । वार्ताका लागि रवि लामिछाने सहित रास्वपा उपसभापति डीपि अर्याल र पूर्व सांसद असीम शाह सहभागी थिए भने बालेन सहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए।
स्रोतका अनुसार ६ घण्टासम्म चलेको वार्ताका क्रममा करिब ५ घण्टा रवि र बालेन एक्ला एक्लै वार्ता गरेका थिए । त्यसअवधिभर अन्य नेताहरू छुट्टै बसेका थिए । रवि र बालेन बिच व्यक्तिगत जीवनका उतार चढाबबाट सुरु भएको कुराकानी वर्तमान राजनीतिक परिस्थिति र भविष्यमा सहकार्यका सहमतिसम्म पुगेर टुङ्गिएको थियो।
केही दिन अघि मात्रै बुबा गुमाएका बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबीच व्यक्तिगत र भावनात्मक कुराहरू पनि भएका थिए ।
उच्च स्रोतकाअनुसार रवि र बालेन वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दीर्घकालीन रुपमा सँगै मिलाएर जाने विषयमा छलफल सकारात्मक छ।
बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपा नेता शाहले भने दुई दाजु भाइको लामो प्रतीक्षापछिको भेट भएको बताए। ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई’ रास्वपा नेता शाहले लेखेका छन्।


