Banijya News

मझधारमा नेपाली काँग्रेस, काँग्रेस एकढिक्का रहला ?

1
1.1K Shares

नेपाली काँग्रेसको संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भइरहँदा समग्र राजनीतिक क्षेत्रमा अब काँग्रेस एकढिक्का नै रहला ? भन्ने चर्चा चुलिएको छ ।

काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन सुरु भइसकेको छ । सोमबार बिहानसम्म हुने बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ । आठ दशकको काँग्रेस जीवनमा विशेष महाधिवेशन हुन लागेको यो दोस्रोपटक हो । यसअघि ०१४ मा विराटनगरमा विशेष महाधिवेशन गरी बिपी कोइराला सभापति निर्वाचित भएका थिए ।

उक्त विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवै सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले त विशेष महाधिवेशनमा सहभागिताका लागि पठाएको निमन्त्रणा बुझ्नसमेत अस्वीकार गरेको छ । महाधिवेशनको अध्यक्षता काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले गर्ने र महामन्त्री थापा प्रमुख अतिथिको भूमिकामा रहने बताइएको छ ।

देशैभरिबाट महामन्त्रीद्वय थापा र शर्मानिकट नेता तथा महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । महामन्त्री थापानिकट नेताहरूका अनुसार, विशेष महाधिवेशनमा ५० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभए नेतृत्व परिवर्तनको एजेन्डा हुनेछैन । त्यस्तो अवस्था नहुने विश्वास महाधिवेशन पक्षधरको रहेको छ । तर, कथंकदाचित बहुमत संख्या पुगेन भने विशेष महाधिवेशनलाई विशेष भेलामा रूपान्तरण गर्ने र एउटा शक्तिका रूपमा स्थापित हुने उनीहरुको बुझाइ छ ।

महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा विभिन्न विषयमा प्रतिवेदन पेस हुनेछ । बन्दसत्र सुरु भएलगत्तै कार्यविधि प्रस्तुत हुने र त्यसपछि नेतृत्व चयनलगायत अन्य कार्यसूचीमा प्रवेश हुनेछ । ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउने उनीहरुको विश्वास छ । बहुमत प्रतिनिधि सहभागी भएपछि नेतृत्व परिवर्तनको एजेन्डा प्रवेश हुनेछ । बहुमत सदस्यले पार्टी फुटाउने नभएर पार्टीको भावी नेतृत्व, नीति र कार्यदिशाका बारेमा निर्णय लिने महाधिवेशन पक्षधरको तर्क छ ।

काँग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले पुसभित्रै नियमित महाधिवेशन वा पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहितको निवेदन पार्टी कार्यालयमा बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने मिति २८ पुसमा सकिनुअघि उनीहरूले महाधिवेशन आह्वान गरेका हुन् ।

केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै वैशाख अन्तिम साता नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ । तर, परिवर्तित परिस्थितिमा चुनावअघि नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै महामन्त्रीद्वय थापा र शर्मासमेत संलग्न भएर विशेष महाधिवेशनको मिति तय गरेका हुन् ।

अहिलेको अवस्थामा काँग्रेस यथास्थितिमा रहने वा समयसापेक्ष परिवर्तन हुने भन्ने मझधारमा उभिएको छ । खासगरी, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह र यसले ल्याएको सत्ता परिवर्तनको लहरले काँग्रेसलाई स्पष्ट रूपमा दुई धारमा विभाजित गरिदिएको छ । अहिले संस्थापन पक्ष र महाधिवेशन पक्षधर आमनेसामने उभिएका छन् । यही परिप्रेक्ष्यमा विशेष महाधिवेशन भइरहेको छ । यथास्थितिमा रहेर रुपान्तरण सम्भव छैन भन्ने सोचसहित महाधिवेशनमा प्रतिनिधिहरु सहभागी भएका छन् ।

उता, नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको संस्थापनहरुको तर्क छ । अहिलेको अवस्था हेर्ने हो भने काँग्रेसलाई समयसापेक्ष परिवर्तन गर्न पुराना अनुहार मात्र पर्याप्त छैनन् । पार्टीलाई सशक्तरुपमा अघि बढाउन नयाँ अनुहार र प्रगतिशील विचार बोकेका नेताहरू अघि बढ्नुपर्छ भन्ने भाष्य निर्माण हुँदै गएको छ । तर, नेपाली राजनीतिको केन्द्रमा रहेको काँग्रेसमा नेतृत्व परिवर्तनले मात्र पार्टी परिवर्तन होला वा नयाँ नीति, कुशल नेतृत्व र सही कार्यदिशाका साथ अघि बढ्ला, त्यो भने समयले नै देखाउनेछ । अहिले काँग्रेसभित्र स्पष्टरुपमा दुई धार देखा परेकोमा विशेष महाधिवेशनको समापनसँगै पार्टी एक ढिक्का रहला वा विभाजनको रेखा कोरिएर दुई किनारमा पुग्ला, यसको निक्र्यौल गर्ने जिम्मा महाधिवेशन प्रतिनिधिहरुको काँधमा आइपुगेको छ ।

1

Scroll to Top