Banijya News

तत्कालीन सरकार प्रमुख ओलीसहितलाई १० वर्षसम्म कैद हुने कसुरमा सजाय गर्न सिफारिस

1
1.1K Shares

जेन–जी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध तीनदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने दफा आकर्षित हुने उल्लेख गरेको छ। भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठन गरिएको जेन–जी आन्दोलन जाँचबुझ आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले करिब पाँच महिनाको अध्ययनपछि प्रतिवेदन सरकारलाई बुझाएको हो।

आयोग स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक खापुङलाई फौजदारी अपराध संहिता २०७४ को दफा १८१ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ। उक्त दफामा लापरबाहीपूर्ण कामका कारण ज्यान गएको अवस्थामा तीनदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रतिवेदनमा दफा १८१ को उपदफा (२) अनुसार कारबाहीको सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ। तर उक्त दफासँग सम्बन्धित दफा १७७ र १७८ अनुसार कसुर प्रमाणित भएमा सजाय थप हुन सक्ने तथा दफा १७९ अनुसार अवस्था ठहरिएमा सजाय नहुन सक्ने कानुनी व्यवस्था पनि रहेको छ।

दफा १७९ मा कानुनको पालना, निजी रक्षाको अधिकार प्रयोग, राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य निर्वाह गर्दा वा त्यस्तो कार्यका कारण उत्तेजना सिर्जना भएको अवस्थामा उक्त कसुर लागू नहुने उल्लेख छ। आयोगले यी तीन जनाबाहेक अन्य केही सुरक्षा अधिकारी र प्रशासनिक पदाधिकारीमाथि पनि अनुसन्धान गरी कसुरअनुसार कारबाही गर्न सिफारिस गरेको जनाएको छ। प्रतिवेदनमा तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन एसएसपी (हालका डीआईजी) विश्वराज अधिकारी लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई पनि घटनामा भूमिकाअनुसार छुट्टाछुट्टै कारबाहीको सिफारिस गरिएको बताइएको छ।

आयोगले २३ गतेको प्रदर्शनमा गोली चलाउने, गोली चलाउन आदेश दिने तथा रोक्न नसक्ने जिम्मेवार व्यक्तिहरूको पहिचान गरेर कारबाही सिफारिस गरेको जनाएको छ। त्यस्तै २४ गते भएको प्रहरी हत्या, सार्वजनिक तथा महत्वपूर्ण संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले दुवै दिनका घटनामा संलग्न व्यक्तिहरूको किटान गरेरै प्रतिवेदन तयार पारिएको बताए। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सिफारिस गरिएको छ।

प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजान आयोगले आग्रह गरेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रतिवेदन आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ। मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि सम्बन्धित निकायलाई प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिने र प्रतिवेदन सार्वजनिक गर्नेबारे पनि निर्णय गरिने बताइएको छ।

यसअघि आयोगमा बयान दिँदा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक खापुङले भने गोली चलाउन कुनै आदेश नदिएको दाबी गरेका थिए। तर आयोगले घटनाको अध्ययनपछि उनीहरूमाथि दफा किटान गरी कारबाही सिफारिस गरेको हो। यता तत्कालीन गृहमन्त्री रमेश लेखकले भने आयोगको प्रतिवेदनबारे आफूलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्। प्रतिवेदन सार्वजनिक भएपछि मात्र त्यसबारे कानुनी र राजनीतिक रूपमा प्रतिक्रिया दिने उनले बताएका छन्।

1

Scroll to Top