Banijya News

चुनावी हार स्वीकार्दै ओलीले भने- ‘जनताको फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ’

1
1.1K Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो तथा पार्टीको कर्तव्य भएको बताएका छन् । ओलीले निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले देखाएको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति भएको उनले उल्लेख गरेका छन् ।

उनले निर्वाचन परिणाम पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन् । आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितमा काम गर्दै विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता ओलीले व्यक्त गरेका छन् ।

दिदीबहिनी तथा दाजुभाइहरू,

यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु।

तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।🙏

1

Scroll to Top