नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्यहरू एकमत रहेको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रीय सदस्यले धाराणा राख्नुभएको र सबैले राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उनले जानकारी दिए। उनकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पनि प्रस्तुत गरिएको छ। यसमा आधारित भएर अधिकांश केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। कांग्रेसको केन्द्रीय समितिको बैठक हाल पार्टी मुख्यालय सानेपामा जारी छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले ठूलो पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।


