Banijya News

मैले संसदमा बोलेका कुरा पार्टीकै लाइन अनुसार थियो: बादल

1
1.2K Shares

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले आफूले पार्टीको लाइनअनुसार नै संसदीय दलको नेताको हैसियतमा प्रतिनिधि सभाको बैठकमा धारणा राखेको बताएका छन्। कास्की पुगेका कार्यवाहक अध्यक्ष थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलप्रति असन्तुष्टि जनाए। उनले भने, ‘संसद्को पहिलो बैठकमा पार्टीको दल नेताको हैसियतले मैले जे कुराहरू भने त्यो पार्टी लाइन अनुसार थियो। केन्द्रीय सचिवालयको बैठक बस्यो र केन्द्रीय सचिवालयले फेरि एउटा वक्तव्य जारी गर्‍यो। त्यो वक्तव्य आइसकेपछि त्यसले फेरि अर्को कन्फ्युजन क्रिएट गरेको छ।’

उनले आफ्नो वक्तव्यपछि पार्टीको उपाध्यक्ष पौडेलको अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए। उनले थपे, ‘उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट गर्नुभयो। दल नेताले जुन धारणा राख्नुभयो संसद्मा त्यो पार्टीका स्थापित मान्यता विपरीत छ, त्यसमा घोर आपत्ति छ, यो बारेमा अब सचिवालयको बैठक बसेर उपयुक्त निर्णय लिइनेछ भनेर। को-को मान्छेहरू भित्र लुकेका थिए। पार्टी भित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको छ। त्यसकारणले त्यो कन्फ्युजनलाई क्लियर गर्नको निम्ति त्यो स्टेटमेन्ट दिइएको हो।’

उनले आफूले पार्टीकै लाइन अनुसारको वक्तव्य दिएर जनताको दुस्मनहरूलाई प्रहार गरेको बताए। उनले थपे, ‘ठुलो आक्रमण थियो दक्षिणपन्थीहरूलाई, बाहिरका दुस्मन पनि र भित्रका दुस्मन पनि बाहिर एक्सपोज भए।’ उनले पार्टी अहिले आन्दोलनमा रहेको भन्दै मुख्य जिम्मेवारी अध्यक्ष केपी ओलीलाई मुक्त गराउने भएको बताए।

1

Scroll to Top