सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका प्राथमिकताप्राप्त आयोजनालाई अघि बढाउने संकेत गरेको छ। आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै अर्थ मन्त्रालयले साढे ३१ अर्ब रुपैयाँभन्दा बढी बजेट फुकुवा गरेको हो।
अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका महत्त्वपूर्ण आयोजना समेटेर कुल ३१ अर्ब ६९ करोड रुपैयाँ बराबरका १ हजार १ सय ४२ वटा योजनाको बजेट निकासा गरिएको छ। तीमध्ये अधिकांश आयोजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेका छन्।
ऊर्जा उत्पादन, प्रसारण, सिँचाइ विस्तार तथा जलस्रोत व्यवस्थापनसँग सम्बन्धित आयोजनाले दीर्घकालीन प्रभाव पार्ने भएकाले तिनलाई विशेष प्राथमिकतामा राखेर बजेट फुकुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै रामेश्वर खनालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित विभिन्न विकासे मन्त्रालयका औचित्यहीन र टुक्रे योजनाको करिब ९० अर्ब रुपैयाँ बराबरको बजेट होल्ड गर्न निर्देशन दिएका थिए। विशेषगरी तीन करोड रुपैयाँसम्मका साना योजनाहरू रोकिँदा ऊर्जा तथा सिँचाइ क्षेत्रका केही आयोजना प्रभावित भएका थिए।
पछिल्लो अध्ययन र मूल्याङ्कनपछि सञ्चालनमा रहेका तथा मुलुकको ऊर्जा सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोजनाको बजेट क्रमिक रूपमा फुकुवा हुँदै गएको अर्थ मन्त्रालयको भनाइ छ। ऊर्जा उत्पादन वृद्धि, सिँचाइ विस्तार र जलस्रोतको समुचित उपयोगमार्फत आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्यअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका आयोजनालाई प्राथमिकतामा राखिएको हो।
सरकारको यो निर्णयले मन्त्रालयअन्तर्गतका रणनीतिक तथा राष्ट्रिय महत्वका आयोजनाले थप गति लिने अपेक्षा गरिएको छ।


