चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बीमालेख सरेन्डर ६.१३ प्रतिशतले घटेको देखिएको छ । चालु आवको पहिलो ६ महिनामा ५१ हजार ७७ वटा बीमालेख सरेन्डर भएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा पोलिसी सरेण्डर बापतको रकम २३.७७ प्रतिशतले घटेको हो । गत आवको पहिलो ६ महिनामा ५४ हजार ४१४ वटा बीमालेख सरेन्डर भएको थियो ।
नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको पुस महिनासम्ममा सरेण्डरमार्फत साढे ५ अर्बबढी रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको दोस्रो त्रैमास अर्थात पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २३.७७ प्रतिशत कम हो । गत आवको पुस महिनासम्म जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको पुस महिनासम्म ५४ हजार ४१४ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको पुस महिनासम्म भने ५१ हजार ०७७ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या ६.१४ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ४.५३ प्रतिशतले बढेको छ । गत आवको पुस महिनासम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ रहेको छ । यता व्यतित बीमालेखको संख्या पनि ०.१७ प्रतिशत बढेर १२ लाख ३१ हजार ६५० वटा पोलिसी नविकरण भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख २८ हजार ५०६ रहेका थिए ।
३७ अर्ब ८० करोडको बीमा निष्क्रिय
समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरूमा ३७ अर्ब ८० करोड ७६ लाख रूपैयाँ बराबरको जीवन बीमालेख नवीकरण नभई ‘व्यतीत’ भएर बसेको देखिएको छ । संख्याका आधारमा १२ लाख ३१ हजार ६५० वटा बीमालेख नवीकरण भएका छैनन् । हाल नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी छन् । उक्त कम्पनीहरूमा सो बराबरको बीमालेख नवीकरण नभई बसेको हो । यो गत आवको पुस मसान्तसम्मको तुलनामा बढी हो । गत आवको पुस मसान्तसम्म ३६ अर्ब १६ करोड ८९ लाख रूपैयाँ बराबरको १२ लाख २९ हजार ५०६ वटा पोसिली निष्क्रिय भएर बसेको थियो । संख्याका आधारमा ०.१७ प्रतिशत र रकमका आधारमा ४.५३ प्रतिशतले बीमा व्यतीत भएको देखिन्छ ।
सामान्यतः पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधि तोकेर जीवन बीमा गरिन्छ । एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बाहेक बीमितले त्यस्ता बीमामा हरेक बर्ष बीमाशुल्कको किस्ता तिर्नुपर्छ । त्यो किस्ता नतिरेमा बीमालेख नवीकरण हुँदैन । त्यस्तो बीमालेख व्यतीत भएर बसेको हुन्छ । बीमितले पहिला तिरेको पैसा कम्पनीमा सुरक्षित रहन्छ । बीमा अवधि सकिएपछि त्यो रकम बोनस सहित पाइनेछ । तर, नवीकरण नगरेको मितिदेखि उक्त बीमालेखले बिमितको जोखिम भने सुरक्षण गर्दैन । बीमितले कुनै पनि बेला बक्यौता तिरेर त्यस्तो पोलिसी नवीकरण गर्न भने सक्नेछन् । बीमा गरेको तीन बर्षपछि बीमालेख सरेन्डर नै गर्न मिल्छ । बीमालेख सरेन्डर गर्दा बीमितले आफ्नो पैसा पनि फिर्ता पाउँछन् । तर, बीमितले पोसिली सरेन्डर पनि नगर्ने र नवीकरण पनि नगर्ने समस्या रहेको यो तथ्यांकले देखाएको छ ।
बीमा कम्पनी तथा अभिकर्ताहरुले नियमित रुपमा बीमितलाई सम्पर्क नगर्दा पनि पोलिसी नविकरण नहुने समस्या देखिएको जानकारवाहरु बताउँछन् । यसैगरी पहिला अभिकर्ताले कमिसनका लागि जवरजस्ती बीमा गराउने र पछि निमीयत सम्पर्क नगर्ने हुँदा पनि यस्तो समस्या आएको बताइन्छ । कतिपय अवस्थामा आर्थिक अभावका कारण बीमितले साचीकै बीमालेख नवीकरण गर्न नसकेको पनि कम्पनीहरू बताउँछन् । बीमा सरेन्डर सम्बन्धी ज्ञान नभएका कारण त्यस्ता बीमितहरु पोलिसी सरेन्डर गर्न पनि नआएको कम्पनीहरुको भनाइ छ ।


