Banijya News

संसद्मा व्यवसायीहरूको उल्लेख्य प्रतिनिधित्तव

1
1.1K Shares

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न क्षेत्रका व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। प्रत्यक्षतर्फ उम्मेदवार बनेका व्यवसायीहरूमध्ये १० जना विजयी भई संसद्मा प्रवेश गर्न सफल भएका छन् भने चर्चित उद्योगपति विनोद चौधरीसहित केही व्यवसायी पराजित भएका छन्। निर्वाचनमा विभिन्न दलबाट दर्जनौँ व्यवसायी उम्मेदवार बनेका भए पनि अन्ततः १० जना व्यवसायीले प्रत्यक्षतर्फ विजय हासिल गरेका छन्। निर्माण, पर्यटन, ऊर्जा, कुरियर, वित्तीय सेवा लगायतका विभिन्न क्षेत्रमा आबद्ध व्यवसायीहरूले प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

रसुवा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्माण व्यवसायी मोहन आचार्य विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार आचार्यले रास्वपाका वसन्त भट्टलाई पाँच हजार ८५ मतान्तरले पराजित गर्दै १० हजार ६ सय ५६ मतसहित जित हात पारेका हुन्। भट्टले पाँच हजार पाँच सय ७१ मत प्राप्त गरेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका आचार्य यसअघि पनि २०७९ को निर्वाचनमा रसुवाबाट निर्वाचित भएका थिए।

स्याङ्जा–१ मा पर्यटन व्यवसायी धनञ्जय रेग्मी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रेग्मीले २९ हजार ७१ मत ल्याएर जीत हासिल गरेका हुन्। उक्त क्षेत्रमा प्रतिस्पर्धा गरेका मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकाल र पूर्वबैंकर मीनप्रसाद गुरुङ भने पराजित भएका छन्।

सोलुखुम्बुबाट कुरियर तथा कार्गो व्यवसायी प्रकाशसिंह कार्की निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कार्कीले १३ हजार एक सय ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका असीम राईले नौ हजार चार सय १४ मत प्राप्त गरेका छन्। भक्तपुर–१ मा भक्तपुर उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका व्यवसायी रुकेश रञ्जित विजयी भएका छन्। रास्वपाका उम्मेदवार रञ्जितले ३३ हजार चार सय ३६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार एक सय ४७ मत प्राप्त गरेका छन्।

सिन्धुपाल्चोक–१ बाट ऊर्जा व्यवसायी भरतराज पराजुली निर्वाचित भएका छन्। रास्वपाका उम्मेदवार पराजुलीले २४ हजार चार सय १२ मत ल्याउँदा नेकपाका माधव सापकोटाले १७ हजार तीन सय २७ मत प्राप्त गरेका छन्। बारा–२ मा भुक्तानी सेवा प्रदायक आइएमईका लगानीकर्ता अरविन्द साह विजयी भएका छन्। रास्वपाका उम्मेदवार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।

उदयपुर–१ मा व्यवसायी पारसमणि गेलाल विजयी भएका छन्। रास्वपाका उम्मेदवार गेलालले ३० हजार पाँच सय ९० मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ६ मत प्राप्त गरेका छन्। तनहुँ–२ बाट ऊर्जा व्यवसायी श्रीराम न्यौपाने निर्वाचित भएका छन्। रास्वपाका उम्मेदवार न्यौपानेले ३२ हजार ६ सय ८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार एक सय ३५ मत प्राप्त गरेका छन्।

दोलखाबाट ऊर्जा उद्यमी जगदीश खरेल विजयी भएका छन्। रास्वपाका उम्मेदवार खरेलले ३२ हजार तीन सय ७६ मत ल्याउँदा एमालेका पार्वत गुरुङले १७ हजार चार सय ४९ मत प्राप्त गरेका छन्। यसैगरी सर्लाही–१ बाट युवा व्यवसायी नीतिमा भण्डारी कार्की निर्वाचित भएकी छिन्। रास्वपाकी उम्मेदवार कार्कीले ४४ हजार एक सय ८१ मत ल्याएर जीत हासिल गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ३६ हजार तीन सय १० मत प्राप्त गरेका छन्। कार्की बाजेका सेकुवा समूहसँग आबद्ध व्यवसायी हुन्।

1

Scroll to Top