Banijya News

सार्वजनिक संस्थान वर्गीकरणको प्रस्तावमा नयाँ सरकारलाई ग्रिन सिग्नल

1
1.1K Shares

अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूको सुधार र व्यवस्थापन प्रभावकारी बनाउन संस्थानलाई वर्गीकरण गर्ने प्रस्ताव अघि सारेको छ। मन्त्रालयका अधिकारीहरूले वर्तमान आर्थिक र व्यवस्थापकीय अवस्थालाई ध्यानमा राख्दै संस्थानलाई आवश्यकता अनुसार वर्गीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

अधिकारीहरूका अनुसार सार्वजनिक संस्थानहरू प्रारम्भमा सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालन भई सार्वजनिक वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने उद्देश्यले स्थापना गरिएका थिए। लोककल्याणकारी राज्यको अवधारणालाई अनुसरण गर्दै आधारभूत वस्तु तथा सेवामा गुणस्तर कायम गरी सुपथ मूल्यमा उपलब्ध गराउने, उत्पादन तथा वितरणमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने तथा उपलब्ध स्रोत–साधनको समुचित उपयोग गरी राष्ट्रिय विकासलाई गति दिने लक्ष्य राखेर संस्थान स्थापना गरिएका थिए।

तर पछिल्ला वर्षहरूमा राजनीतिक तथा सामाजिक परिवर्तनसँगै संस्थानहरूको कार्यप्रणाली र व्यवस्थापनमा चुनौती थपिँदै गएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार वर्तमान परिवेशमा सबै संस्थानलाई एउटै ढाँचामा सञ्चालन गर्नु प्रभावकारी नभएकाले संस्थानहरूको स्पष्ट वर्गीकरण आवश्यक भएको हो।

निर्वाचन परिणामपछि गठन हुन लागेको नयाँ सरकारले पनि संस्थान सुधारको मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ। चुनावी परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुई तिहाई नजिक पुगेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पार्टीले प्रधानमन्त्रीको प्रत्यासीका रूपमा बालेन्द्र साह (बालेन)लाई अघि सारेको छ।

रास्वपाको चुनावी घोषणापत्रमा सार्वजनिक संस्थानहरूलाई वर्गीकरण गरी केहीलाई गाभ्ने, केहीलाई निजी–सार्वजनिक साझेदारी मोडलमा लैजाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने तथा अन्यलाई विकेन्द्रित गर्ने योजना उल्लेख गरिएको छ। साथै संस्थान सुधार र खर्च कटौतीको आधारका रूपमा ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५’ को प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

अर्थ मन्त्रालयका उपसचिव डा. मुक्तिनाथ सुवेदीले संस्थानहरूको वर्गीकरणमार्फत आवश्यक परे निजीकरणतर्फ पनि अघि बढ्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन्। उनका अनुसार केही संस्थान नाफा–घाटाभन्दा पनि राज्यले अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने प्रकृतिका हुन्छन् भने अन्य संस्थानहरूलाई निजी क्षेत्र वा साझेदारी मोडलमार्फत सञ्चालन गर्दा प्रभावकारी बन्न सक्छन्।

हाल सरकारको लगानीको प्रतिफल अत्यन्त न्यून रहेको छ। यही कारण सार्वजनिक संस्थानहरू सरकारका लागि आर्थिक भारको विषय बन्दै गएको अधिकारीहरू स्वीकार्छन्। हाल देशमा ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। तीमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् भने २५ वटामा सरकारको बहुमत स्वामित्व रहेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा संस्थानहरूको सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।

उक्त अवधिमा २८ वटा संस्थान नाफामा रहेका छन् भने १६ वटा घाटामा छन्। दुई वटा संस्थान भने बन्द अवस्थामा रहेका छन्। आव २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो। घाटामा रहेका संस्थानहरूको खुद नोक्सानी भने ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

सरकारी अधिकारीहरूका अनुसार अत्यावश्यक सेवा प्रदान गर्ने पानी, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रका संस्थान भने सरकारकै जिम्मेवारीमा सञ्चालन हुनेछन्। अन्य क्षेत्रका संस्थानहरूलाई भने निजी क्षेत्र, सामुदायिक वा सार्वजनिक–निजी साझेदारी मोडलमार्फत सञ्चालन गर्ने विकल्पमा सरकार अघि बढ्न सक्ने संकेत गरिएको छ।

1

Scroll to Top