Banijya News

अघिल्लो वर्षको कमजोरी सुधार गर्दै, योजना बैंकमार्फत मात्र लागू हुनेः मुख्यमन्त्री आचार्य

1
1.1K Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्ष चाहेर पनि वास्तविक बजेट ल्याउन नसकेको स्वीकार गर्दै अहिले सुरुवाती चरणबाटै त्यसमा ध्यान दिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताएका छन् ।

सोमबार संसदीय बजेट कार्यालयसम्बन्धी छलफलमा उनले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौँ । अघिल्लो वर्ष प्रयास गरे पनि प्राविधिक कारणले त्रुटि भयो, अबको बजेट वास्तविकतामा आधारित हुनेछ,’ मुख्यमन्त्री आचार्यले भने । उनले आयोजना बैंकमार्फत सिफारिस भएका योजना मात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए। योजना छनोटमा प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले योजना बैंकमार्फत योजना छनोट गर्ने परिपाटी विकास गरिने दाबी गरे । गत वर्ष पनि मुख्यमन्त्री आचार्यले यस्तै प्रतिबद्धता गरे पनि बजेट फरक आएपछि आलोचना भएको थियो ।

सभामुख तुलाराम घर्तीमगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणी पाण्डे तथा अर्थशास्त्री एवं पूर्व योजना आयोग सदस्य डा. सुदनकुमार वलीले बजेट प्रणाली, चुनौती र सुधारका उपायबारे प्रस्तुति दिएका थिए ।

छलफलमा संसदीय बजेट कार्यालय (पिबिओ) स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ । बजेटको भाषा, संरचना, प्रभाव र औचित्य बुझ्न प्रदेश सभा सदस्यलाई सहयोग गर्ने संयन्त्रका रूपमा (पिओबी) लाई प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन सुधार गर्नेजस्ता नीतिगत सुझावहरू प्रस्तुतसँगै लैङ्गिक तथा सामाजिक समावेशिता, जलवायु उत्तरदायित्व, वित्तीय समन्वय, तथ्याङ्क प्रणाली तथा बजेट साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

1

Scroll to Top