Banijya News

मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः कुन क्षेत्रमा के भयो ?

1
1.1K Shares

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुलुकको पूर्वाधार विकास, प्रशासनिक नियुक्ति र आर्थिक संकट व्यवस्थापनका क्षेत्रमा दुरगामी महत्त्व राख्ने निर्णयहरू गरेको छ। बैठकले विशेष गरी अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने वैदेशिक सहायताको ढोका खोलेको छ।

भौतिक पूर्वाधारतर्फ नागढुंगा सुरुङमार्ग र पासाङल्हामु राजमार्गको स्तरोन्नतिका लागि निजी जग्गा प्राप्ति गर्ने बाटो खुला गर्दै काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणका लागि वन क्षेत्रको प्रयोग र रुख कटानको अनुमति दिने निर्णय भएको छ। यसका साथै, प्रशासनिक सुदृढीकरणका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्दै सरकारले महत्त्वपूर्ण निकायहरूमा नेतृत्व चयन गरेको छ।

पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र त्यसले अर्थतन्त्रमा पारेको भारलाई कम गर्न सरकारले केही कडा तर राहतमुखी नीतिहरू समेत अघि सारेको छ । १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको तथ्याङ्कलाई मध्यनजर गर्दै सरकारले पेट्रोल, डिजेल र मट्टितेलको भन्सार महसुल तथा पूर्वाधार करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने र विद्युतीय सवारी तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने रणनीति सरकारले अख्तियार गरेको छ। साथै, ललितपुरको पुल्चोकस्थित जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थानान्तरण गरी उक्त स्थानमा जल तथा ऊर्जा आयोगको सचिवालय राख्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नेतृत्व हेरफेर गर्ने निर्णय समेत मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छिन ।

1

Scroll to Top