Banijya News

सार्वजनिक खरिद ऐनमा व्यापक हेरफेर: ‘रिभर्स अक्सन’ देखि कर्मचारीलाई कारबाहीसम्म

1
1.2K Shares

नेपाल सरकारले झन्डै दुई दशक पुरानो सार्वजनिक खरिद प्रणालीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने तयारी गरेको छ। निर्माण व्यवसायीहरूको लामो समयदेखिको माग र विकास आयोजनाहरूमा देखिएका संरचनात्मक बाधाहरूलाई सम्बोधन गर्न ‘सार्वजनिक खरिद ऐन, २०६३’ लाई प्रतिस्थापन गर्ने गरी नयाँ विधेयकको मस्यौदा तयार पारिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको ‘सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८२’ ले खरिद प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखेको छ। प्रस्तावित मस्यौदाको सबैभन्दा नवीन पक्ष भनेको ‘रिभर्स अक्सन’ विधिको सुरुवात हो ।

यस प्रणालीअनुसार बोलपत्रदाताहरूले अनलाइन माध्यमबाट एकअर्काको दरभाउ हेर्दै प्रतिस्पर्धात्मक रूपमा मूल्य घटाउन सक्नेछन्। तोकिएको समयभित्र सबैभन्दा कम रकम प्रस्ताव गर्नेले ठेक्का पाउने सुनिश्चितता यसले गर्छ। यसका साथै, सरकारी निकायका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु वा सेवाहरू सिधै अनलाइनबाट खरिद गर्न ‘सरकारी ई–मार्केटप्लेस’ को अवधारणा पनि अघि सारिएको छ।

निर्माण व्यवसायीहरूले लागत अनुमानभन्दा निकै कम मूल्यमा ठेक्का सकारेर काम अलपत्र पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ व्यवस्था गरिएको छ। यदि कुनै बोलपत्रदाताले लागत अनुमानभन्दा ५० प्रतिशतभन्दा कम वा ३० प्रतिशतभन्दा बढी घटेर दर पेस गरेमा त्यसलाई ‘असामान्य’ मानिनेछ। यस्तो अवस्थामा व्यवसायीले आफ्नो दरको प्राविधिक र आर्थिक पुस्ट्याइँ अनिवार्य रूपमा दिनुपर्नेछ, अन्यथा मूल्याङ्कन समितिले त्यस्तो बोलपत्र रद्द गर्न सक्ने अधिकार पाउनेछ।

काम सुरु नै नगरी पेस्की रकम लिएर अन्यत्र चलाउने समस्या समाधान गर्न अब खरिद सम्झौता रकमको बढीमा २० प्रतिशत मात्र मोबिलाइजेसन पेस्की दिइनेछ। यो रकम खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने र खर्चको नियमित विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ। पेस्की लिएको ३० दिनभित्र काम सुरु नगरेमा वा रकम दुरुपयोग भएमा बैंक जमानत जफत गरी ठेक्का सम्झौता रद्द गरिने कडा प्रावधान मस्यौदामा छ।

नयाँ मस्यौदाले सरकारी खरिदलाई पूर्णतः कागजविहीन बनाउने लक्ष्य लिएको छ। अब विद्युतीय प्रणालीबाट बोलपत्र आह्वान गर्दा पत्रपत्रिकामा सूचना छापिरहनु पर्ने बाध्यता हट्नेछ। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न ३० प्रतिशत मूल्य अभिवृद्धि भएका स्वदेशी सामानलाई खरिदमा अनिवार्य प्राथमिकता दिने व्यवस्था गरिएको छ, जसले स्थानीय उद्योगलाई प्रोत्साहन गर्ने देखिन्छ।

यसअघिको ऐनमा कर्मचारीको ढिलासुस्तीमा कारबाहीको स्पष्ट व्यवस्था नभए पनि नयाँ मस्यौदाले यसलाई कडाइका साथ समेटेको छ। जग्गा मुआब्जा, रुख कटान वा डिजाइन जस्ता पूर्वतयारी विना ठेक्का लगाउने वा काम सम्पन्न भएपछि भुक्तानी रोक्ने कर्मचारीलाई विभागीय कारबाही गरिनेछ। अर्कोतर्फ, गुणस्तरीय काम समयमै सक्ने व्यवसायी र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र दिने सकारात्मक प्रणालीको पनि प्रस्ताव गरिएको छ।

जटिल र राष्ट्रिय गौरवका आयोजनाहरू (जस्तै टनेल, पुल, जलविद्युत्) का लागि ईपीसी (EPC – Engineering, Procurement and Construction) र टर्न–की विधिको विशेष व्यवस्था गरिएको छ। यसमा डिजाइनदेखि निर्माणसम्मको सबै जिम्मेवारी एउटै निर्माण कम्पनीले लिने हुँदा आयोजनाको जोखिम र लागत व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

1

Scroll to Top