वर्षौंदेखिको भाडा बक्यौता तिर्न अटेरी गरेपछि समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा रहेका २० वटा कार्यालय तथा व्यावसायिक संरचनाहरूमा सोमबार तालाबन्दी गरेको छ। परिषद्का अनुसार पटक–पटक सूचना जारी गर्दा पनि भाडा तिर्न बेवास्ता गर्ने रिपोटर्स क्लब, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ र अपाङ्ग महासंघ लगायतका संस्थाहरूमा कडा कारबाहीस्वरूप ताला लगाइएको हो।
महिला तथा बालबालिका मन्त्री सीता बादीको निर्देशनपछि परिषद्ले यो कदम चालेको हो। भृकुटीमण्डप क्षेत्रबाट मात्रै १० करोड रुपैयाँभन्दा बढी भाडा असुल गर्न बाँकी रहेको परिषद्का सदस्य–सचिव सरोजकुमार शर्माले जानकारी दिएका छन्। पटक–पटकको ताकेतालाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको र अबको सात दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन दिइएको छ।
परिषद्ले आगामी दिनमा यस क्षेत्रका संरचनाहरूलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने योजना समेत सार्वजनिक गरेको छ।


