नेपालको बैंकिङ क्षेत्रमा चार दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो संस्थागत लक्ष्य र मूल्यमान्यतामा आमूल परिवर्तनको घोषणा गरेको छ। ‘भविष्यका लागि तयार बैंक’ बन्ने सङ्कल्पसहित बैंकले आफूलाई विश्वस्तरीय नेपाली बैंकका रूपमा स्थापित गर्ने नयाँ मार्गचित्र सार्वजनिक गरेको हो।
यस रूपान्तरणको मुख्य आधारका रूपमा बैंकले प्रकृतिसँग जोडिएको ‘पञ्चतत्त्व’ दर्शनलाई आत्मसात् गरेको छ, जसमा विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रूपान्तरणलाई क्रमशः धर्ती, पानी, आगो, वायु र आकाशसँग तुलना गरिएको छ। यी पाँच स्तम्भ (५-टी) मार्फत बैंकले आफ्नो आन्तरिक सुशासन, डिजिटल क्षमता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै ग्राहकको अपेक्षालाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
बैंकिङ प्रणालीमा तीव्र गतिले आइरहेको डिजिटल परिवर्तन र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को बढ्दो प्रयोगलाई आत्मसात् गर्दै बैंकले आफ्नो पुरानो पहिचानलाई परिमार्जन गरी ‘सधैँ सँगै अघि’ भन्ने नयाँ स्लोगन समेत तय गरेको छ। प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार यो नयाँ यात्रामा सेवाको उत्कृष्टता र नेतृत्व विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।
हाल २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३१८ एटिएममार्फत सेवा दिइरहेको बैंकले अबको दशकमा मानव स्रोत र नवीन प्रविधिमा व्यापक लगानी गर्ने योजना बनाएको छ। यसरी संस्थागत मूल्यमान्यतालाई पुनर्परिभाषित गर्दै नबिलले आफ्ना सरोकारवाला र समुदायप्रतिको जिम्मेवारीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


