Banijya News

तिन अर्ब ८० करोडको सेयर कारोबार उधारो, दीपक भट्ट र भृकुटी स्टकको ठगी सार्वजनिक

1
1.1K Shares

विवादास्पद व्यवसायी दीपक भट्टले धितोपत्र बजारमा अर्बौँ रुपैयाँको सेयर उधारोमा कारोबार गरेको र त्यसमा भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले नियमविपरीत सहयोग गरेको तथ्य बाहिर आएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार भट्टले २०८२ साउनदेखि चैतसम्म ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गर्दा एक रुपैयाँ पनि भुक्तानी नगरेको पाइएको छ।

धितोपत्र कारोबार नियमावलीअनुसार २५ प्रतिशत अग्रिम भुक्तानी अनिवार्य भए पनि ब्रोकर कम्पनीले पैसा नै नलिई राफसाफ गरिदिएको र असार १६ गतेसम्म भट्टले १ अर्ब ३६ करोड ९ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। भट्टले आफ्नो स्वामित्व रहेका इन्फिनिटी होल्डिङ्गस, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्व र नेपाल माइक्रो इन्स्योरेन्स लगायतका संस्थाहरूको मिलेमतोमा बजारमा कृत्रिम माग सिर्जना गरी सेयर मूल्यमा चलखेल गरेको अनुसन्धानले देखाएको छ। खासगरी नेपाल रिइन्स्योरेन्सको सेयर मूल्यलाई योजनाबद्ध रूपमा बढाएर लगानीकर्ता झुक्काउने कार्य गरिएको र यसमा अन्य व्यक्ति तथा संस्थाहरूको निक्षेप र कोल्याट्रल रकम भट्टको कारोबार राफसाफ गर्न दुरुपयोग गरिएको पाइएको छ। यो कार्य धितोपत्र सम्बन्धी ऐन २०६३ को कसुर ठहरिने प्रतिवेदनको निष्कर्ष छ।

यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवालकी पत्नी शुभी अग्रवालले पनि भृकुटी स्टकलाई ६२ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम नतिरी सेयर कारोबार गरेको तथ्य खुलेको छ। उनले २०८१ असोजदेखि हालसम्म गरेका कारोबारमा कुनै भुक्तानी नगरी नियमविपरीत सुविधा लिएको देखिएको छ। हाल दीपक भट्ट प्रहरी हिरासतमा रहेका छन् भने सम्पत्ति शुद्धीकरण विभागले उनीहरूको घर र कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

1

Scroll to Top