Banijya News

सामाजिक सञ्जालमा झुटा खबर पोस्ट गर्दै हुनुहुन्छ ? सरकारले थाल्यो निगरानी

1
1.1K Shares

पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालमा बढ्दै गएको मिथ्या सूचना र आधारहीन सामग्रीप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कडा आपत्ति प्रकट गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तथ्यहीन र भ्रामक समाचारको बढ्दो प्रवाहले समाजमा नकारात्मक मनोविज्ञान फैलाएको र आम नागरिकलाई भ्रमित पारेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सरकारले कपोलकल्पित र पुष्टि नभएका सूचना सम्प्रेषण गर्नेहरूलाई अब कडा निगरानीमा राख्ने भएको छ। मन्त्रालयले आधिकारिक स्रोतबाट प्रमाणित नभएसम्म कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न सञ्चारमाध्यम, विभिन्न संघसंस्था र व्यक्तिगत प्रयोगकर्ताहरूलाई सचेत गराएको छ। यदि कसैले प्रचलित नियमको उल्लंघन गरी झुटा विवरण फैलाएको पाइएमा विद्युतीय कारोबार ऐन लगायतका विद्यमान कानुनअनुसार कडा कारबाही गरिने चेतावनी विज्ञप्तिमा दिइएको छ।

त्यसैगरी, मन्त्रालयले सर्वसाधारण नागरिकलाई पनि सूचनाको सत्यता नजाँची सामाजिक सञ्जालमा शेयर नगर्न र डिजिटल साक्षरताप्रति सचेत रहन अपिल गरेको छ। कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको आधिकारिकता जाँच्नु प्रत्येक नागरिकको जिम्मेवारी भएको सरकारको ठहर छ। भ्रामक सूचना वा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित कुनै पनि गुनासो भएमा मन्त्रालयको वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ। साथै, फोन र इमेलमार्फत पनि यस्ता उजुरीहरू दर्ता गर्न सकिने मन्त्रालयले स्पष्ट पारेको छ। सूचना प्रवाहलाई थप विश्वसनीय र जिम्मेवार बनाउन सरकारले सबै सरोकारवाला पक्षबाट सहयोगको अपेक्षा गरेको छ।

1

Scroll to Top