Banijya News

आन्तरिक सुस्तता हटाउन नीतिगत क्रान्ति गरिन्छ: डा. स्वर्णिम वाग्ले

1
1.1K Shares

अमेरिकाको प्रख्यात प्राज्ञिक थलो हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजी (एमआइटी) का विद्यार्थी संगठनहरूको सक्रियतामा आयोजित दुई दिने ‘द नेपाल डिस्कोर्स २०२६’ सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक भविष्यको एउटा नयाँ र साहसिक खाका प्रस्तुत गरेका छन् ।

उक्त संवादमा भिडियो लिंकमार्फत मुख्य वक्ताका रूपमा सहभागी हुँदै अर्थमन्त्रीले नेपाललाई अब ‘भूपरिवेष्ठित’ देशको पुरानो पहिचानबाट बाहिर निकालेर ‘क्लाउड-लिंक्ड’ राष्ट्रका रूपमा विश्वमा चिनाउनुपर्ने समय आएको उद्घोष गरे। उनले भूगोलले निम्त्याएका विगतका आर्थिक जटिलता र सीमाहरूलाई आधुनिक डिजिटल प्रविधिले पूर्णतः

विस्थापित गरिदिने ऐतिहासिक अवसर अहिले नेपालसामु रहेको तथ्यलाई विशेष जोड दिए। यस सम्मेलनको अर्को महत्वपूर्ण पक्ष प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारको आर्थिक लक्ष्य र सुशासनको कार्यदिशा थियो। अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकतामा रहेका १०० वटा शासकीय सुधारका बुँदाहरूलाई कार्यान्वयन गर्दै नेपालको अर्थतन्त्रको आकारलाई १०० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्वकाङ्क्षी लक्ष्यलाई पुनः दृढताका साथ दोहोर्‍याए।

उक्त लक्ष्य केवल कल्पना मात्र नभई कम्तीमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सके आगामी ५ वर्षभित्रै साकार हुने ठोस योजना समेत उनले प्रस्तुत गरे। यसका लागि सरकारले आन्तरिक निश्क्रियतालाई तोड्न नयाँ कानुन निर्माण र नीतिगत संरचनामा व्यापक सुधारका कदमहरू शिघ्र चालिने प्रतिवद्धता व्यक्त गरे।

नेपालको वर्तमान वित्तीय स्वास्थ्यको चर्चा गर्दै अर्थमन्त्रीले मुलुकसँग अहिले २३ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको जानकारी दिए, जसले १८ महिनासम्मको आयात सहजै धान्न सक्छ। विश्वका धेरै मुलुकहरूले मुद्रा संकटको सामना गरिरहँदा नेपाल यो जोखिमबाट सुरक्षित रहेको भए तापनि आन्तरिक उत्पादन र पुँजी परिचालनमा देखिएको जडतालाई चिर्नु नै अहिलेको मुख्य चुनौती रहेको उनको विश्लेषण थियो।

उनले नेपाली डायस्पोरालाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा मात्र नहेरी उनीहरूलाई ‘पानी जाँच गर्ने समूहका रूपमा परिभाषित गरे। जसरी छिमेकी मुलुकहरूमा प्रवासी समुदायले लगानीको वातावरण सुनिश्चित भएको सङ्केत दिएपछि मात्र विदेशी लगानीकर्ताहरू आकर्षित हुन्छन्, नेपालमा पनि नेपाली विद्यार्थी, उद्यमी र पेशाकर्मीहरू नै देशको मुख्य सम्पत्ति र लगानीका संवाहक भएको उनले स्पष्ट पारे।

सम्मेलनको प्राविधिक सत्रहरूमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र उद्यमशीलताका सम्भावनाबारे नेपाल र अमेरिकाका विज्ञहरूबीच १६ वटा फरक-फरक सत्रमा गहन बहस भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै यो शक्ति डायस्पोरा-मैत्री रहेको उल्लेख गर्दै वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई व्यवहारमा उतार्ने विश्वास दिलाए।

यस वृहत् सम्मेलनको योजना गत वर्षको सेप्टेम्बरमा हार्भर्डमा अध्ययनरत नेपाली विद्यार्थीहरू सलोमी भट्ट, उत्सव खरेल र लिडरसिप अकाडमी नेपालका सीइओ डा. अरुण जोशीबीचको प्रारम्भिक छलफलबाट सुरु भएको थियो, जसले अन्ततः विश्वका उत्कृष्ट मस्तिष्कहरूलाई नेपालको समृद्धिका लागि एउटै थलोमा ल्याउन सफल भयो।

1

Scroll to Top