Banijya News

एनआरएनए विधेयकमा संशोधन गर्न संघको माग

1
1.2K Shares

गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ मा व्यापक संशोधनको माग गर्दै परराष्ट्र मन्त्रालयमा औपचारिक सुझाव पेश गरेको छ। उक्त सुझाव गैरआवासीय नेपाली कल्याण विभागकी उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयमा बुझाएको हो। 

सुझावपत्र श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा समेत हस्तान्तरण गरिएको संघले जनाएको छ। प्रतिनिधिमण्डलमा उपाध्यक्ष बुद्धि सुबेदी, महिला उपाध्यक्ष राधिका टीका गुरुङ लगायतको सहभागिता रहेको थियो। सुझाव उपसचिव मधुसुदन भट्टराईमार्फत माननीय मन्त्री शिशिर खनाल र महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई बुझाइएको हो।

संघका अनुसार विश्वभर रहेका गैरआवासीय नेपाली समुदाय, सरोकारवाला निकाय तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफलका आधारमा एकीकृत दस्तावेज तयार पारिएको हो। अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा महासचिव डा चिरञ्जीवी खड्का, कोषाध्यक्ष कृष्ण तिमल्सिना, निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ लगायतको समन्वयमा सुझाव संकलन गरिएको हो।

सुझावमा गैरआवासीय नेपाली नागरिकता, सम्पत्ति अधिकार, कर प्रणाली, लगानीमैत्री वातावरण र कानुनी स्पष्टता जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ। एनआरएनएले गैरआवासीय नेपालीलाई राज्यसँग भावनात्मक मात्र नभई व्यावहारिक रूपमा पनि जोड्ने कानुनी व्यवस्था आवश्यक रहेको बताएको छ।  साथै, विधेयकलाई छिटो अन्तिम रूप दिई संसदमा दर्ता गर्न र आगामी कानुनी प्रक्रिया तथा नियमावली निर्माणमा संघलाई सहभागी गराउन पनि आग्रह गरिएको छ।

1

Scroll to Top