नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभिन्न उतारचढाव र अन्योलका बीच सरकारले पुरानै छनोट प्रक्रियालाई निरन्तरता दिँदै आगामी साताभित्रै बोर्डको नेतृत्व टुंगो लगाउने तयारी गरेको छ। यसअघि चलिरहेको प्रक्रिया रद्द गरी नयाँ आवेदन खुलाउने चर्चा चले पनि अन्ततः हालसम्मकै प्रक्रियालाई अघि बढाउने निष्कर्षमा सरकार पुगेको हो। सम्भवतः आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाटै सेबोनको नयाँ नेतृत्वको घोषणा हुनेछ।
यसअघि धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले सो पदका लागि गोपाल भट्ट, विनयदेव आचार्य र मुकुन्द क्षेत्रीको नाम सिफारिस गरेको थियो र उनीहरूको अन्तर्वार्ता समेत सम्पन्न भइसकेको छ। तर, हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने विवादमा नाम जोडिएपछि मुकुन्द क्षेत्री नियुक्तिको प्रतिस्पर्धाबाट लगभग बाहिरिएको स्रोतको दाबी छ। यस्तो अवस्थामा अब मुख्य प्रतिस्पर्धा गोपाल भट्ट र विनयदेव आचार्यबीच मात्र हुने देखिएको छ र सरकारले यी दुईमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने तयारी गरेको छ।
बोर्डको नेतृत्व चयनलाई लिएर राजनीतिक वृत्तमा पनि उच्च तहको छलफल भइरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच यस विषयमा सघन संवाद भइरहेको बुझिएको छ। विगतमा धितोपत्र बोर्डको विवादकै कारण सरकारसमेत संकटमा परेकाले यसपटक अर्थमन्त्री वाग्ले योग्य र आर्थिक रूपमा स्वच्छ छवि भएको व्यक्तिलाई नेतृत्वमा ल्याउन निकै गम्भीर छन । सुरुमा धेरै योग्य व्यक्तिहरू आवेदन प्रक्रियामा सहभागी नभएको भन्दै पुनः विज्ञापन गर्ने सोच बनाइए पनि समय अभावका कारण पुरानै प्रक्रिया रोजिएको हो। यसका साथै अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डसँगै नेपाल बीमा प्राधिकरणको नेतृत्व पनि छिट्टै टुंग्याउने गरी आन्तरिक गृहकार्य तीव्र पारेका छन ।


