सिन्धुपाल्चोकमा वैदेशिक र उच्च वर्गका पर्यटक लक्षित गरी सञ्चालनमा ल्याइएको चारतारे ‘भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा’ सञ्चालकहरूबीचको आपसी असमझदारी र बैंकिङ विवादका कारण लिलामीको संघारमा पुगेको छ। ९५ रोपनी क्षेत्रफलमा फैलिएको ४८ कोठाको यस रिसोर्टका लागि नेपाल बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिइएको थियो।
हाल ब्याज र जरिबानासहित कुल ३९ करोड ५४ लाख रुपैयाँ असुलीका लागि बैंकले लिलामी प्रक्रिया अगाडि बढाए पनि लगानीभन्दा कम मूल्यांकनको बोलकबोल भएपछि हाललाई लिलामी स्थगित गरी बैंक थप प्रक्रियामा अगाडि बढेको छ। ऋण नतिरेकै कारण बैंकले संस्थापक सञ्चालकहरू चिनबहादुर रानाभाट, समिर नेपाल, छिरिङ शेर्पा र सुवास प्रधानलाई कालोसूचीमा राखेको छ।
कोभिड–१९ का कारण ऋणको ब्याज तिर्न समस्या भएपछि संस्थापक सञ्चालकहरू चिनबहादुर र छिरिङले २०८२ असारमा आफ्नो सेयर दीपेन्द्र अग्रवाल र सुवास प्रधानको समूहलाई बिक्री गर्दै रिसोर्टबाट बाहिरिएका थिए। हाल रिसोर्टमा दीपेन्द्र अग्रवाल समूहको ५३ प्रतिशत र प्रधान समूहको ४४.७ प्रतिशत सेयर स्वामित्व छ। सेयर बिक्री गर्दा सम्पूर्ण वित्तीय दायित्व र व्यक्तिगत ग्यारेन्टी (पीजी) नयाँ खरिदकर्ताले व्यहोर्ने लिखित सहमति भए पनि नयाँ व्यवस्थापनले त्यसको पालना नगर्दा र बैंकले पुरानो ग्यारेन्टी फुकुवा नगरिदिँदा पूर्वसञ्चालकहरू समेत कालोसूचीको मारमा परेका छन् ।
यसैबीच, मुख्य लगानीकर्ता सुवास प्रधानले सेयर खरिद गरेबापतको रकम भुक्तानी नगरेपछि सिर्जना भएको आर्थिक विवादका कारण उनी हाल चेक बाउन्स र बैंकिङ कसुरको मुद्दामा पोखरा कारागारमा छन्। अर्का नयाँ लगानीकर्ता दीपेन्द्र अग्रवालले आफूले रिसोर्ट बचाउन ६ करोड ९० लाख रुपैयाँ बैंकको ब्याज बुझाएर प्रवेश गरे पनि प्रधानको ‘अनप्रोफेशनल’ व्यवहार र सम्झौताअनुसारको सेयर ट्रान्सफर नगर्ने नियतका कारण आफू स्वयं ठगिएको र मानसिक तनावमा रहेको दाबी गरेका छन्।
सञ्चालकहरूको व्यक्तिगत टकराव, आर्थिक अपराध र भद्रगोल व्यवस्थापनका कारण ७० करोड रुपैयाँ मूल्यांकन गरिएको सिन्धुपाल्चोककै यो गौरवको परियोजना अहिले संकटमा परेको छ।


