Banijya News

नयाँ सरकार र सेयर बजारबीच खटपट : उत्साहबीच किन देखियो निराशाको संकेत ?

1
1.1K Shares

नेपालको राजनीतिमा आएको पछिल्लो परिवर्तन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पुँजी बजारमा लगानीकर्ताको ठुलो उत्साहको अपेक्षा गरेका थिए । तर, सरकार गठनको पहिलो कारोबार दिन आइतबारको बजारले भने फरक दृश्य प्रस्तुत गरी लगानीहरुप्रती निराशा पैदा गरेको छ । विगत केही महिनादेखि निरन्तर उकालो लागिरहेको सेयर बजार नयाँ सरकारको ’कार्यकाल’ सुरु हुनासाथ ओरालो लाग्नुले लगानीकर्ता माझ “नयाँ सरकारलाई बजारले विश्वास नगरेको हो त?“ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।

पछिल्लो तीन महिनाको ट्रेन्ड हेर्ने हो भने, फागुन २१ (मार्च ५) को आम निर्वाचन अघिदेखि नै बजारमा सकारात्मक संकेत देखिएका थिए । विशेष गरी ’नयाँ शक्ति’ को आगमन र नीतिगत सुधार हुने आशामा नेप्से २७०० को विन्दुबाट उकालो लाग्न सुरु गरेको थियो । निर्वाचनको नतिजा आउँदै गर्दा र रास्वपाले बहुमत नजिकको सिट हासिल गरेपछि बजारले ’बुलिस’ प्रवृत्ति देखाएको थियो । गत बिहीबार मात्रै बजार २९५०.१६ को विन्दुमा पुगेर बन्द भएको थियो, जुन पछिल्लो आठ महिना यताकै उच्च विन्दुमध्ये एक हो । निर्वाचन र सरकार गठनको प्रक्रियाले लगानीकर्तामा एक प्रकारको ’मनोवैज्ञानिक उत्साह’ भरेको थियो, जसका कारण कारोबार रकम दैनिक १३ अर्ब रुपैयाँ माथि पुगेको थियो ।

नयाँ सरकार आएपछि बजार बढ्नुपर्नेमा आज आइतबार नेप्से ४२.२७ अंकले घटेर २९०७.८९ मा झरेको छ । यो गिरावटलाई विश्लेषकहरूले “सरकारप्रतिको अविश्वास“ भन्दा पनि “सरकारको कार्यशैलीप्रतिको डर“ का रूपमा व्याख्या गरेका छन् । नयाँ सरकारले कार्यभार सम्हालेको २४ घण्टाभित्रै पुराना दलका प्रभावशाली नेताहरूको पक्राउ र वि.सं. २०४६ पछिका सबै उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने १०० बुँदे कडा कार्ययोजना सार्वजनिक गरेपछि ठुला लगानीकर्ताहरू झस्किएका हुन् । नेपालको सेयर बजारमा ठुलो हिस्सा ओगट्ने व्यवसायी र राजनीतिक पहुँच भएका व्यक्तिहरूमाथि पर्न सक्ने कानुनी दबाबले बजारमा ’सप्लाई’ बढाएको देखिन्छ ।

यसका साथै, बजारमा एउटा पुरानो नियमले पनि काम गरेको छ– “खबरमा किन्ने र तथ्यमा बेच्ने“ (Buy on rumors, sell on news)। नयाँ सरकार बन्छ भन्ने हल्लाका बीच मूल्य बढाएका लगानीकर्ताहरूले सरकार बनेको ’तथ्य’ बाहिर आएपछि नाफा सुरक्षित (Profit Booking) गर्न सेयर बिक्री गर्दा पनि बजारमा चाप परेको मानिन्छ ।

बजारको यो प्रारम्भिक गिरावटलाई मात्र हेरेर नयाँ सरकार असफल भयो भन्नु हतारो हुनेछ । अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्लेको सम्भावित प्रभाव र उनले लिने उदारवादी आर्थिक नीतिले अन्ततः बजारलाई सकारात्मक दिशामा लैजाने अपेक्षा गरिन्छ । हालको गिरावटलाई बजारको ’स्वभाविक करेक्सन’ मान्न सकिन्छ, किनकि नेप्से २९०० को मनोवैज्ञानिक विन्दुमा अडिन खोजिरहेको छ ।

आगामी दिनमा राष्ट्र बैंकको मौद्रिक नीतिमा हुने फेरबदल र नयाँ सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो रहन्छ, त्यसैले नेप्से ३००० को विन्दु पार गर्ने वा नगर्ने निश्चित गर्नेछ । लगानीकर्ताहरू अहिले ’पर्ख र हेर’ को अवस्थामा रहेकाले बजारमा केही दिन उतारचढाव कायमै रहने देखिन्छ । सेयर बजारमा कारोबार गर्दा धैर्यता मजबुत राख्न सकियो भनै बजारबाट लाभ लिन सकिन्छ ।

1

Scroll to Top